ओली-प्रचण्ड छलफल सकारात्मक

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टीको आन्तरिक विवादको समाधान खोज्न बिहीबार भएको छलफल सकारात्मक देखिएको छ ।

बालुवाटारमा नेकपाका महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरू शंकर पोखरेल र जनार्दन शर्मासहित अध्यक्षद्वयबीच भएको छलफल समस्याको समाधान खोज्ने गरी सकारात्मक भएको बुझिएको छ ।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले विगत ९ दिनदेखि संवादविहीन अवस्थाबाट दुई अध्यक्षको संवाद सुरु भएकाले समाधानउन्मुख भएको बताए । उनले भने, ‘बिहीबारदेखि विषयबस्तुमा प्रवेश भएको छ। अरु त्यस्तो कुनै सहमति नभएपनि समाधानउन्मुख हुनेगरी छलफल जारी छ।’

गत १० असारमा सुरु भएको स्थायी समिति बैठकका लागि निर्धारित कार्यसूचिभन्दा बाहिर गएर पार्टीका वरिष्ठ नेताहरूले नै प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि नेकपामा आन्तरिक विवाद चर्किँदै आएको छ ।

विवादकै कारण स्थायी समिति बैठक पटक–पटक स्थगित हुँदै आएको छ ।