सशस्त्रका एसएसपी अधिकारी पुर्पक्षका लागि थुनामा

सशस्त्रका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजेन्द्रकुमार अधिकारीलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

बलात्कारको अभियोगमा अधिकारीलाई जिल्ला अदालत कास्कीका न्यायाधीश दीपककुमार खरेलको एकल इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिइएको हो ।

सोमबार र मंगलबारको बहसपछि मंगलबार यस्तो आदेश भएको अदालतका सूचना अधिकारी रामचन्द्र उपाध्याय जानकारी दिए । अधिकारीविरुद्ध अधिकतम् २१ वर्षसम्म सजाय माग गर्दै आइतबार अभियोगपत्र दायर भएको थियो ।

पोखरा लामापाटनस्थित सशस्त्र प्रहरी, हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयमा कार्यरत एसएसपी अधिकारीविरुद्ध असार ३१ मा चितवनबाट २७ वर्षीया युवतीलाई खाना खान बोलाएर क्वार्टरमै जबर्जस्ती बलात्कार गरेको अभियोग छ । अधिकारी असार ३१ गते नै पक्राउ परेका थिए ।