ज्वरो आएर उपचार गर्न फेवासिटी आएका ३ जनामा कोरोना

पोखरा महानगरमा कोरोना संक्रमितको संख्या बढदो छ । मंगलबार पोखरा महानगरमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरा ५ को एक सहकारीमा काम गर्ने महिला ३८ वर्षीया महिला र उनका ११ वर्षीय छोरामा कोरोना पुष्टि भएको छ । उनीहरु ज्वरो आएपछि उपचारका लागि फेवासिटी हस्पिटल नागढुंगा गएका थिए । उनीहरु अहिले मेडिकल वार्डको क्याबिनामै छन् भने उपचारमा संलग्न २ डाक्टर क्वारेन्टिनमा बसेका छन् ।

यस्तै, पोखरा २७ का ३० वर्षीय संक्रमित पुरुष सिद्धार्थ बैंकका कर्मचारी हुन् । पोखरा १७ की ४५ वर्षीया महिला क्वारेन्टिनमा रहेकी नभएर समुदायकी भएको खुलेको छ ।

उनी पनि ज्वरो र रुघा, खोकी लागेपछि उपचारका लागि फेवासिटी पुगेकी थिइन् । उनको बारेमा विस्तृत विवरण संकलन र खोजपड्ताल जारी रहेको स्वास्थ्य महाशाखाका वरिष्ठ अधिकृत हरिलाल आचार्यले जानकारी दिए ।

फेवासिटीमा आएका बिरामीको स्वाब कलेक्सन गरी उठाउने व्यवस्था रहेकाले संक्रमित देखिएको अस्पतालका निर्देशक दिनेशबाबु खड्काले बताए । संक्रमितहरुको उपचारमा संलग्न डाक्टर, नर्स र कर्मचारीहरुका लागि क्वारेन्टिनको व्यवस्था अस्पतालले नै गरेको उनले जानकारी दिए ।

निर्देशक खड्काले अरु बिरामी र अस्पतालमा कुनै खतरा नभएको उनले प्रष्ट गरे । उनले भने, ‘सबै अस्पतालले स्वाब कलेक्सन गरी जाच्न पठाउनुपर्छ । हामीले सुरक्षाका सबै प्रोटोकल अपनाएका छौं ।’

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ३१ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षण अनुसार गण्डकी प्रदेशमा थप ८ जनामा संक्रमण पुष्टि भएको हो ।