बिहीबार दिउँसो कोरोना संक्रमण पुष्टि भएका पोखरा ८ का ४ जना एकै परिवारका हुन् । सोही परिवारका १ जनामा साउन १९ गते नै कोरोना संक्रमण पुष्टि भइसकेको थियो ।
विदेश भ्रमण नगरेका उनीहरु कसरी संक्रमित भए भन्ने खोजी हुँदै छ । तनहुँको आबुखैरेनी गाउँपालिकामा कार्यरत एक कर्मचारीमा १९ गते कोरोना संक्रमण पुष्टि भयो । त्यसपछि गाउँपालिका ३ दिनलाई सिल गरियो ।
२६ कर्मचारीको जाँच गर्दा अरु कसैको पनि कोरोना पोजेटिभ नदेखिएपछि बुधबारबाट गाउँपालिका खुलेको प्रवत्ता कटकबहादुर थापाले नेपालदुतलाई बताए । अहिले गाउँपालिकाले सेवा सुचारु गरेको छ ।
ती कर्मचारीकी सासूको केही दिनअघि काठमाडौंमा मुटुको शल्यक्रिया भएको थियो । बिहीबार ७२ वर्षकी ती महिलामा पनि कोरोना पुष्टि भयो । महिलाका ८२ वर्षीय श्रीमान् र संक्रमित कर्मचारीका ७ र १४ वर्षका छोराहरुमा पनि संक्रमण पुष्टि भएको छ ।
अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ७५ पुगेको छ । केही दिनअघि पोखरा ४ को डाक्टरको परिवारमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले संक्रमितहरुलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको जनाए पनि आइसोलेसन भरिएको छ । बुधबार संक्रमण पुष्टि भएका केही संक्रमित होम क्वारेन्टिनमै छन् । महानगरका वरिष्ठ जनस्वास्थ्य अधिकृत हरिलाल आचार्यले बिहीबार संक्रमण पुष्टि भएकाहरु घरमै रहेको जानकारी दिए ।
यसअघि विभिन्न निजी अस्पतालमा आइसोलेसन बनाउने घोषणा भए पनि काम हुन सकेन । गण्डकी अस्पतालको ४० बेडको आइसोलेसन भरिएपछि प्रदेशले लेखनाथ स्थित प्रदेश स्वामित्वको अस्पतालमा आइसोलेसन कक्ष बनाउन पहल थालेको छ ।