जलेश्वरमा ५ दिनसम्म निषेधाज्ञा

समुदायमा कारोना महामारी फैलिन थालेपछि महोत्तरी सदरमुकाम जलेश्वरमा शुक्रबार रातिदेखि पाँच दिनको लागि निषेधाज्ञा जारी भएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालद्वारा हस्ताक्षरित सूचनामा जलेश्वरको पूर्वमा भार्गवसर मन्दिर, पश्चिममा रामनन्दन विशेश्वर महेन्द्र क्याम्पस, उत्तरमा रणभीम गण र दक्षिणमा रातोपुल यति चारकिलाको क्षेत्रमा पाँचदिनसम्मको लागि निषेधाज्ञा जारी गरिएको जनाइएको छ।

जिल्लाको महोत्तरी गाउँपालिका ३ र ५ नम्बर वडामा पनि पाँच दिनको लागि निषेधाज्ञा जारी गरिएको छ।

एक साताअघि महोत्तरी गाउँपालिका–३ बस्ने एक ६४ वर्षीय पुरुषको कोरोना संक्रमणको कारण मृत्यु भएपछि उनको शव व्यवस्थापनमा खटिएका तथा आइसोलेसन व्यवस्थापनमा खटिएका १० जना नेपाली सेना, जलेश्वरको एक सामुदायिक विद्यालयका प्रधानाध्यापक, जलेश्वर नगरपालिकाका कर्मचारी र मृतकका परिवारजनमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ।