रत्नशोभा स्कुलमा भवन, खानेपानी टंकी र शौचालय बन्दै

पोखरा २८ माझठाना, रैकरको रत्नशोभा माविमा भूकम्प पुनर्निर्माण प्राधिकरणको सहयोगमा एकैसाथ भवन, खानेपानी टंकी र शौचालय बन्ने भएका छन् ।

शुक्रबार आयोजित कार्यक्रममा संघीय सांसद खगराज अधिकारीले यी पूर्वाधार शिलान्याश गरे । अधिकारीले सामुदायिक स्कुलहरुका भौतिक निर्माणका लागि सरकारले उल्लेख्य लगानी गरेको उल्लेख गर्दै अब गुणस्तरीय शिक्षामा ध्यान दिन आग्रह गरे । गुणस्तरीय र युगसापेक्षा शिक्षाबाट नै समृद्ध नेपाल निर्माण हुने उनको भनाइ छ ।

पोखरा २८ का अध्यक्ष निर्मल दियालीले निर्धारित समयमा गुणस्तरीय निर्माण सम्पन्न गर्न विद्यालय व्यवस्थापन समितिलाई आग्रह गरे । रकमका लागि पहल गर्ने सबैलाई धन्यवाद दिँदै उनले स्कुलमा वडाको तर्फबाट गर्नुपर्ने सहयोग जारी रहने प्रतिवद्धता गरे । उनले भने, ‘स्कुलका लागि आवश्यक पूर्वाधार बनेका छन् । अब शिक्षालाई गुणस्तरीय र प्रतिश्पर्धी बनाउन ध्यान दिन जरुरी छ ।’

विद्यालयका प्रधानाध्यापक गोपालबहादुर बुढाथोकीले करिब ७० लाख लागतमा ४ कोठे भवन, करिब १५ लाखामा शौचालय र करिब ६ लाखमा खानेपानी टंकी निर्माण हुने जानकारी दिए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोहन गुरुङको अध्यक्षमा भएको कार्यक्रममा सदस्य लालमोहन तिवारीले पनि बोलेका थिए । रत्नशोभामा इसिडीबाट १२ कक्षासम्म पढाइ हुन्छ । विद्यालयमा अहिले२ सय ७३ विद्यार्थी छन् ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।