अकस्मात हृदयघात भइ उसको मृत्यु भयो। परिवार र आफन्तहरूमा रुवाबासी चल्यो। उसको मृत्युको खवर क्षणभरमै टाढा टाढासम्म फैलियो। सर्वत्र अकाल मृत्यु भनेर चुकचुकाउन थाले ।
उनको लास आँगनमा राखिएको थियो। धेरै मानिसहरू लासको वरिपरि थिए ।
लास उठाएर घाटमा लगिहाल्न कसैलाई मन लागेकै थिएन तर लैजानै पर्थ्यो।अति दुखित मन लिएर लास उठाइयो। उसलाई चिन्ने जान्ने जति सबै उसको मलामी बने। देख्नेहरूले भने , मलामी भने कमाएकै रहेछ। लासलाई घाटसम्म पुर्याएपछि चितामा राखियो। अन्तिम बिदाई हुनुपूर्व एकजना नेता जस्ता देखिने व्यक्तिले केही प्रवचन राखे। प्रवचनमा उनले मृतकको निकै गुणगान गाए। त्यसपछि एक मिनेट मौन धारणा गर्न सबैलाई आग्रह गरे।
तत्पश्चात् हेर्दाहेर्दै त्यहाँ आधा भन्दा बढी मानिसहरू आ -आफ्नो गन्तव्यतिर लागिसकेका दृश्य देखिन्थ्यो। चिता नजिक केही आफन्तहरू मात्रै बाँकी थिए ।
मानिसहरू चितामा राखिएको लास छाडेर गएपछि एकआपसमा खुसुर पुसर गर्दै गरेको सुनियो।
ए ,हाम्रै पार्टीको मान्छे भन्ठानेको त, भौतिक रुपमा हाम्रो पार्टीलाई र द्वन्दकालमा बिपक्षी पार्टीलाई पटकपटक थुप्रै आर्थिक सहयोग पो गरेको रहेछ!
अघिसम्म बिलौना गरेर रुनेहरू मध्येको एकजनाले अलि चर्कै स्वरले भन्यो – “गद्दार ! बेलैमा मर्यो , राम्रै भयो ।”
तर उसले गरेको सहयोग स्वेच्छिक थिएन। यो कुरा चाहिँ मृतकले बुझाउने मौका नै पाएको थिएन।




