खतरनाक लागुपदार्थ ‘मेथान्टामाइन आइस’ सहित एक पक्राउ

प्रदेश १ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरीको विशेष टोलीले खतरनाक लागुऔषध बरामद गरेको छ।

मोरङ सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरका ४२ वर्षीय रामप्रसाद पोखरेलको साथबाट मेथान्टामाइन आइस नामक लागुऔषधसहित नियन्त्रणमा लिइएको हो ।

मेथान्टामाइन आइस विश्वमा दुर्व्यसनीले सबैभन्दा बढी रुचाएको केमिकल ड्रग्स भित्र पर्ने प्रहरीका एक उच्च अधिकारीले बताए।
यसको अन्तर्राष्ट्रिय मूल्य प्रतिग्राम ८० डलरभन्दा बढी रहेको प्रहरीको भनाइ छ। तस्करी हुँदै नेपालसम्म आइपुग्दा प्रति किलो तीन करोड रुपैयाँसम्म पर्ने दाबी प्रहरीले गरेको छ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी दीपक पोखरेलले अनुसार कारोबारीका साथबाट ५३० ग्राम ९३ मिलिग्राम लागुऔषध बरामद भएको छ। लागुऔषधसहित पक्राउ परेका पोखरेल जग्गा कारोबारी र केही उद्योगका लगानीकर्ता हुन् ।

उच्च गुणस्तरको लागुऔषध र यसका कारोबारी पक्राउ परेको प्रदेश १ मा यो पहिलो घटना हो ।