भारतमा फैलिएको कोरोनाको आँधीबेहरी तथा नेपालमा यसको प्रभाव

भारतमा कोरोना संक्रमण प्रतिदिन ५० हजारको आसपासमा बढिरहेको छ | अहिलेसम्म परीक्षण भएका संक्रमित १३ लाख ३६ हजारभन्दा धेरै छन् भने यसको धेरै गुणाको परीक्षण नभएका संक्रमित भएको विश्वास गरिएको छ | आजसाम्म ३१ हजार ३ सय ५८ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ | हिंजो भारतमा ४ लाख २० हजार व्यक्तिको कोरोना परीक्षण गरिएको छ भने आगामी दिनमा परीक्षणको दायरा बढाउनको लागि ठूला ठूला ल्याब बिभिन्न राज्यमा स्थापना गरिएको छ |

सम्पूर्ण नीजी ल्याबलाई ३ हजारमा कोरोना परीक्षण गर्न अनुमति दिइएको छ | हिंजो भारतमा ११ सय भन्दा धेरैको मृत्यु भएको थियो भने आज ७५० जना संक्रमितको मृत्यु भएको छ |
नेपालसंग सिमाना जोडिएका ४ राज्यमध्ये पश्चिम बङ्गालमा हप्तामा २ दिन लकडाउन गरिएको छ | यातायात तथा हवाइजहाज फेरी बन्द गरिएको छ | संक्रमितको संख्या ५३ हजारभन्दा धेरै छन् भने आजमात्र २२ सय १६ जनालाई संक्रमण पुष्टि भएको छ |

बिहारको अवस्था अत्यन्तै नाजुक भइरहेको छ | त्यहाँको परीक्षण प्रति १० लाखमा ३४०० जनामा मात्र भएको छ | ठूलो जनसंख्या परीक्षणको दायरा बाहिर छ | आजको मितिसम्म प्रमाणित संक्रमित ३३ हजार ९ सय २६ छन् भने २२० जनाको मृत्यु भएको छ | आज मात्र बिहारमा २८ सय संक्रमित थपिएका छन् | अस्पतालमा खाली बेड छैनन् | आइसीयु, भेन्टिलेटर तथा अक्सिजनको अभाव छ | बिरामीहरु निरुपाय बनेका छन् | स्वास्थ्यकर्मीलाई PPE को अभाव छ |
उत्तर प्रदेशमा पनि संक्रमण बढिरहेको छ | संक्रमितको संख्या ५८ हजारमाथि छ | आज मात्र २८ सय भन्दा धेरै संक्रमित भएका छन् |

नेपालको भारतसंग १८०० किलोमिटरभन्दा लामो खुला सिमाना भएकोले हामीले त्यहाँको अवस्था बुझेर तदनुसार रणनीति बनाउनु जरुरी छ | अहिलेपनि खुला सिमानाको फाइदा उठाउँदै धेरै भारतीय नेपाल प्रवेश गरिरहेको सुन्नमा आएको छ | हामीले पुरै सिमाना शिल गर्ने, २४ सै घण्टा गस्ती गर्ने तथा सिमाबासीलाई प्रशिक्षित गर्नु अत्यावश्यक छ |

भारतको बिहारमा कोरोना संक्रमितमा बिभिन्न लक्षण देखिएका छन् | सास फेर्न गाह्रो हुने, जाडो हुने, पखाला लाग्ने, एकदम कमजोरी महशुष गर्नु लगायतका लक्षण देखिएका छन् |
नेपालको सप्तरी, इनरुवा, बिरगंज लगायतका ठाउँमा पनि कोरोना संक्रमितमा त्यस्तै लक्षण देखिएका छन् | यसबाट थाहा हुन्छ कि भारतका सिमाबर्ती क्षेत्रबाट नेपाल प्रवेश गरेका व्यक्ति वा वारपार ब्यापार गर्ने व्यक्तिबाट नेपालमा कोरोना संक्रमण बढेको छ |

हाम्रो स्वास्थ्य मन्त्रालयले दिनमा ३-४ हजारको परीक्षण गरेर संक्रमित घटेको प्रचार गरिरहेको छ | जोखिम समुदायमा परीक्षण नगण्य रुपमा भएको छ | हामीले भारतको नियति नभोग्ने हो भने घटीमा पनि दिनको ३० हजार पिसिआर टेस्ट गर्नु जरुरी छ | Pooling मेथोड़बाट पिसिआर टेस्ट गर्ने हो भने दिनमा ४-५ हजार पिसिआर परीक्षण गर्ने साधनस्रोत र जनशक्तिले दिनमा ३०-४० हजारको परीक्षण गर्न सक्छन | यसको लागि सरकार इमान्दार र जनताप्रति बफादार भएर लाग्नुपर्यो | स्वतन्त्र विज्ञको आवाज सुन्नुपर्यो | गणेश प्रवृतिको कारण कुमारहरू निरुत्साहित हुनु दुर्भाग्य हो |

सरकारले जनस्वास्थ्यका मापदण्डलाई अनिबार्य ब्यबस्था गर्नुपर्छ | भारतमा मास्क नलगाउनेलाई ५०- १ लाख जरिवाना गर्दैछ | बेलायतले मास्क नलगाउनेलाई १०० युरो जरिवाना तोकेको छ | संसारका अधिकांश देशमा मास्क नलगाउने तथा व्यक्तिगत दुरी कायम नगर्ने व्यक्तिलाई निगरानी र जरिवानाको ब्यबस्था गरिएको छ | हाम्रो देशमा कोरोना संक्रमण नियन्त्रणलाई गम्भीरतापूर्वक कदम चालिएको छैन, प्राथमिकतामा राखिएको छैन |


राइट म्यान, राइट प्लेस नहुनु नै हाम्रो दुर्भाग्य हो |

सरकारले नेपालीबाहेक अन्यको लागि सिमा तथा हवाइ उडान खोल्नु हुँदैन | बिदेशमा रहेका नेपालीलाई निशुल्क वा न्युनतम शुल्कमा स्वदेश आउने वातावरण सरकारले तयार गर्नुपर्छ | तर १ अरब ३० करोड जनसंख्या भएको भारत तथा कोरोना संक्रमण निकै बढिरहेको बंगलादेश ( २ लाख २० हजारभन्दा धेरै संक्रमित भएको ) बाट नेपालमा कोभिडको उपचार गर्न, बच्नको लागि वा अन्य उद्देश्यले स्थल तथा हवाइमार्गबाट आए भने हाम्रो देशले धान्न सक्दैन | कोरोना संक्रमणको आँधीबेहरी रोक्नको लागि हामी सबैको इमान्दार तथा अनुशाशित प्रतिबद्धता आवश्यक छ |