सबै निर्वाचन क्षेत्रमा कम्तीमा २५ लाखको विपद कोष बनाऔं : कोइराला

कास्कीबाट निर्वाचित प्रदेशसभा सदस्य दीपक कोइरालाले जनताको साना साना समस्या हल गर्न प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा २५ लाखको विपद कोष बनाउन माग गरेका छन् ।

सोमबार सदनको विशेष समयमा कोइरालाले अविरल वर्षाका कारण ठूलो प्राकृतिक विपत्तीबाहेक अन्य साना साना क्षति भएका ठाउँमा सरकारले तत्काल सहयोग गर्न सक्नुपर्नेमा उनले जोड दिए । थोरै रकम खर्च गरेर ठूलो धनजन जोगाउन सकिने ठाउँमा पनि तिनै तहका सरकारबाट काम हुन नसकेको उनको भनाइ छ ।

सांसद कोइरालले आफ्नो निर्वाच क्षेत्र कास्की १ (१ं)को पोखरा ३२ तल्लो गगनगौडा देखि जनताको चौतारो जाने पक्की सडक बगाएको तर १५ थान जाली र थोरै ग्राभेल भए हुने ठाउँमा ११ दिन भइसक्दा पनि पनि काम नभएको औंल्याए ।

१२ सय ४० हेक्टर क्षेत्रफलमा सिंचाई हुने विजयपुर नहरको सय मिटर नहरमा समस्या देखिदा मर्मत हुन नसकेर हजारौ किसान प्रभावित हुन परेको, पृथ्वी राजमार्ग अन्तर्गत पर्ने लामेआहाल सडकमा नाला नहुँदा घर घरमा पानी पस्ने समस्या देखिएको, राधाकृष्ण बृद्धाश्रम लगायतका त्यस क्षेत्र घर डुवानमा परेको लगायतका समस्यामा सभामुखमार्फत प्रदेश सरकारको ध्यानाकर्षण गराए ।