गण्डकी प्रदेश प्रहरी अस्पताल आफ्नै भवनमा

गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराको नवनिर्मीत भवन आइतबार उद्घाटन भएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले उद्‍घाटन गरे । गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराको आफ्नो भवन नभएको अवस्थालाई मध्येनजर गर्दै सुविधा सम्पन्न भवन निर्माण गरी प्रहरी कर्मचारी साथै तिनका आश्रीत परिवार लगायत भूतपूर्व प्रहरी कर्मचारीको औषधी उपचारमा सहजता प्रदान गर्न अस्पताल स्थापना भएको हो ।

कास्की जिल्लाको पोखरा महानगरपलिका ७ मुस्ताङचोकमा नेपाल प्रहरीको आफ्नै जग्गामा भवन निर्माण भएको छ । २०७४ चैत्र १७ गते तत्कालीन प्रदेश प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्ष कमल सिंह बमले नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाण्डौबाट प्रदान भैरहेका सेवाहरुलाई विकेन्द्रिकृत गर्ने उदेश्यले भवनको शिलान्यास गरेका थिए ।

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले शिलालेख अनावरण साथै मुख्य प्रवेशद्धारमा रिवन काटि भवनको उद्‌घाटन गरेका हुन् । अर्यालले प्रहरी कर्मचारीलाई शिक्षा र स्वास्थ्यमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ अस्पताल स्थापना भएको हो । उनले नवनिर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालबाट तल्लो तहसम्मका प्रहरी कर्मचारी, आश्रित परिवार तथा भूतपूर्व प्रहरी कर्मचारी स्वास्थ्य सेवाबाट प्रत्यक्ष लाभान्वित हुने विश्वास व्यक्त गरे ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक किरण राणाले देश र जनताको सेवामा समर्पित प्रहरी कर्मचारी तथा आश्रित परिवालाई स्वास्थ्य सेवा प्रदान गर्ने गरी अस्पताल निर्माण भएकोमा खुसी व्यक्त गरे ।

गण्डकी प्रदेश प्रहरी अस्पतालका प्रमुख प्रहरी नायब उपरीक्षक डा नर्मन लामिछानेले हाल जनरल ओपिडीसहित वार्ड ल्याव र फार्मेसी सेवा दिंदै आएकोमा यसलाई निरन्तरता दिंदै हाडजोर्नी, नशा तथा बाथ रोग विशेषज्ञ लगायतका अन्य सेवा प्रदान गरिने बताए ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका टिएसटी प्रमुख प्रहरी निरीक्षक निरञ्जनकुमार सिंहले नेपाल प्रहरी कल्याण कोषको बजेटबाट उक्त भवन निर्माण सम्पन्न भएको जानकारी दिए ।