ह्याप्पी बोर्डिङ स्कुल मासबार, पोखराले आफ्ना स्कुल बसहरुलाई एसियामै पहिलो पटक जोखिम न्युनीकरण र प्रविधियुक्त बनाएको छ ।
बिहान विद्यालय गएका बालबालिका बेलुका घर नआएसम्म अभिभावकलाई निस्चिन्त बनाउन यस्तो सुविधाले सहयोग गर्ने स्कुलका संस्थापक/निर्देशक कविराज बरालले बताए । उनले भने, ‘असुरक्षित यात्रा, सवारी चाप तथा अव्यवस्थित सहरीकरणका बेला शिक्षासँगै स्वास्थ्य, शारीरिक तथा जोखिम न्यूनीकरणलाई ध्यानमा राखी स्कुल बसमा अत्याधुनिक प्रविधि प्रयोग गरेका हौं ।’
बरालले स्कुलमा भएका २ बसमा विभिन्न प्रविधि प्रयोग गरी अमेरिकन स्कुल बस जस्तै सुविधायुक्त बनाइएको बताए । दक्षिण एसियाका स्कुल बस निर्माता कम्पनीहरुले यस्ता सुविधायुक्त बस बनाइनसकेकाले अन्य सवारीका प्रविधि यी बसमा प्रयोग गरिएको उनले उल्लेख गरे । यातायात व्यवस्था कार्यालयको अनुमतिमा विज्ञ र प्राविधिको सल्लाहमा सुविधा थप गरिएको हो ।
यी बसका चालकले पछाडिबाट आएको सवारी क्यामेराबाट सजिलै देख्न सक्छन् भने विद्यार्थीले बाटो काट्न लागेका बेला अन्य सवारीलाई समेत सावधान गराउने गरी स्वचालित स्टप लाइटको व्यवस्था छ ।
सवारीको अगाडि नजिकैबाट बालबालिकाले बाटो काट्दा पनि चालकले देख्न सक्ने प्रविधि भएका यी बसमा बालबालिका झर्ने र चढ्ने बेलामा बस रोकेपछि ढोका आफै खुल्ने र बन्द हुने प्रणाली छ । बस रोकेर बालबालिकालाई ओराल्ने र उकाल्ने बेलामा अन्य सवारीलाई समेत सावधान गराउने गरी बसको वरिपरीसमेत बल्ने स्वचालित फ्लास लाइट जडान गरिएको छ ।
अब ह्याप्पीका अभिभावकले आफ्ना नानीबाबुहरु कहाँ आइपुगे भन्ने जानकारी आफ्नै मोबाइलबाट पाउनसक्ने छन् ।




