असार २९ गते २०७ औं भानुजयन्तीको सन्दर्भमा पुस्तक विमोचन तथा सृजना वाचन भएको छ ।
पर्वत साहित्य सङ्गमको आयोजनामा जुम एप्लिकेशनको माध्यमबाट सम्पन्न गरिएको कार्यक्रममा साहित्यकार राजेन्द्र पहाडीको नवीनतम समालोचना कृति ‘सृष्टिमा दृष्टि’ को सहप्राध्यापक डा। षडानन्द पौड्यालले सार्वजनिकीकरण गरे । कृतिका बारेमा संगमका निवर्तमान अध्यक्ष इन्द्रमान खत्रीले समीक्षात्मक टिप्पणी गरे ।
कार्यक्रममा स्वदेश तथा विदेशमा रहेका साहित्यकारले आ–आफ्ना साहित्यिक सृजना वाचन गर्नुका साथै भानुभक्तले नेपाली भाषा साहित्यको विकासमा पु¥याएको योगदानमाथि चर्चा गरेका थिए । यसरी रचनावाचन तथा मन्तव्य राख्नेहरुमा प्राध्यापक डा। कपिलदेव लामिछाने, डा। बमबहादुर थापा ‘जिताली’, विजय सागर, लक्ष्मीराज शर्मा पौडेल, शान्तिनारायण श्रेष्ठ, दिब्य गिरी, कृष्णादेवी शर्मा श्रेष्ठ, इन्द्रकुमार विकल्प, इन्द्रमान खत्री, गणनाथ पौडेल, कल्पना नेपाल आचार्य, डीआर शर्मा, हरिनारायण उपाध्यायलगायत थिए ।
कार्यक्रममा रसियाबाट एनआरएन संस्कृति तथा सम्पदा उपसमितिका संयोजक गोविन्दप्रसाद गौतम र अष्ट्रेलियाबाट पर्वत साहित्य सङ्गमका सदस्य रामकृष्ण शर्मा ध्रुबले पनि आफ्ना रचना सुनाउनुका साथै शुभकामना मन्तव्य राखे ।
साहित्यकार तथा अनुसन्धाता सहप्राध्यापक डा। षडानन्द पौड्यालले भानुभक्त आचार्यले नेपाली भाषा साहित्यको समृद्धिका लागि पुर्याएको योगदानको बारेमा सविस्तार चर्चा गरे । पर्वत साहित्य संगमका अध्यक्ष राजेन्द्र पहाडीको अध्यक्षता, उपाध्यक्ष डीआर शर्माको स्वागत र सचिव खेमराज शर्मा चापागाईको सञ्चालनमा कार्यक्रम भएको थियो ।




