भावविह्वल म्याग्दी : २० जनाको शव भेटियो, १३ जना अझैं बेपत्ता

- १६ जना घाइतेको उद्धार, २२० जनालाई सुरक्षीत स्थानमा स्थानान्तरण


म्याग्दीको धवलागिरी, मालिका र रघुगंगा गाउँपालिकामा शुक्रबार राति गएको पहिरोमा बेपत्ता भएका ३३ जना मध्य २० जनाको शव भेटिएको छ। बेपत्ताको खोजीमा परिचालन भएको नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी, स्थानिय जनप्रतिनिधि र स्थानीयबासीले पहिरोले पुरिएकाको शनिबार दिउँसो शव फेला पारेका हुन् ।

हालसम्म धवलागिरी गाउँपालिकाको मराङमा ११ जना मालिका गाउँपालिकाको बिमका ८ जना र रघुगंगा गाउँपालिकामा १ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय म्यादीका प्रमुख प्रहरी नायब निरीक्षक किरणजङ कुँवरले जानकारी दिए। कुँवरका अनुसार धवलागिरीका प्रकाश केसी, सुकना लामगाडे, आशिष लामगाडे ,आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मनबहादुर श्रीपाली, कमला श्रीपाली, सुरक्षा श्रीपाली र सुरज श्रीपालीको शव भेटिएको छ। यसअघि शुक्रबार पहिरोले पुरिएका मराङको ठूलोगाउँका तुलबहादुर केसीको शव भेटिएको थियो।

बिमकी बिष्णु शर्मा, इच्छा केसी, गौदेवी नेपाली, विशेष नेपाली, बिरबहादुर नेपाली, उनका ३ महिनाका छोरा, बिष्णु नेपाली, सन्दिप नेपालीको शव भेटिएको निरिक्षक कुँवरले जानकारी दिए।

लापु खोलाले बगाएर रघुगंगा–६ ठाडाखानीका ५० वर्षीय नलीमान छन्त्यालको मृत्यु भएको थियो। मराङको रिखको पहिरोमा ४० वर्षीय धनबहादुर जुग्जाली, ३३ वर्षीय रितुकुमारी जुग्जाली, १० वर्षीया करिस्मा जुग्जाली, ८ वर्षीय कञ्चन जुग्जाली, ५ वर्षीय अर्जुन जुग्जाली, ५५ वर्षीया गौशरा जुग्जाली, २१ वर्षीया दिमा जुग्जाली, ३ वर्षीय दिप्ती जुग्जाली र १ वर्षीय दिवन जुग्जाली बेपत्ता छन्।

कल्लेनीका ५१ वर्षीय जनिमा केसी र १६ वर्षीय सबिन पुनको खोजी भइरहेको छ। दुखुखोलाले बगाएर बेपत्ता भएकी मालिका–६ की ४० वर्षीया गिता रोकाको अवस्था पनि अज्ञात छ। बेपत्ताको खोजी र उद्धारका लागि शनिबार बिहान सुरक्षाकर्मी घटनास्थल पुगेका हुन्। भौगोलिक बिकटता र प्रतिकुल मौसमका कारण २४ घण्टापछि मात्रै सुरक्षाकर्मी पुगेका हुन्।

पहिरोमा परेर घाइते भएका मराङका २ र बिमका १ जनाको ओमकुमारी शान्ति कोष र जिसी ग्रुपको समन्वयमा प्रभु एयरको हेलीकप्टरबाट उद्धार गरिएको छ। मराङकी २२ वर्षीया मञ्जिता श्रीपाली र ७ वर्षका सफल श्रीपालीलाई मणिपाल शिक्षण अस्पताल पोखरा रिफर गरिएको छ भने सामान्य घाईते १३ जनाको म्यादी जिल्ला अस्पताल बेनिमा उपचार भैरहेको म्यादी जिल्लाका प्रमुख जिल्ला अधिकारि ज्ञाननाथ ढकालले जानकारी दिएका छन् ।

तत्काल राहतकोलागि आबश्यक खाद्यान्न लगायत लत्ताकपडा म्यादी जिल्लाका विभिन्न सहयोगि सघं सस्थांहरुको सहयोगमा वितरण गरिसकिएको ढकालले बताए ।

२२० जनालाई सुरक्षीत स्थानमा स्थानान्तरण

पहिरोको उच्च जोखिम भएका स्थान बस्ने २२० जना मानिसहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

  • जिल्ला म्याग्दी रघुगंगा गाउँपालिका ०३ गलेश्वर राहुँघाट खोला नजिकको बस्तिमा रहेका २१ घर धुरीका ८५ जना परिवारलाई ऐ। रघुगंगा गाउँपालिका ०३ स्थित रहेको गायत्री मन्दिरमा स्थानान्तरण गरिएको,
  • जिल्ला म्याग्दी धवलागिरी गाउँपालिका ०६ कल्लेनी जहरे बस्ने ८९ जना व्यक्तिहरुको उद्दार गरी धवलागिरी गाउँपालिका ०७ शिवाङ्ग स्थित रहेको हेम माध्यामिक विद्यालयमा ५० जना र अन्य ३९ जनालाई आफन्तकोमा स्थानान्तरण गरिएको,
  • जिल्ला म्याग्दी मालिका गाउँपालिका ५ देविस्थानका ३ घर धुरीको १३ जना र ऐ।६ दरबारचाउटा का ६ घरधुरीको ३३ जना गरी जम्मा ४६ जनालाई जनप्रिय माध्यामिक विद्यालय दरबाङमा स्थानान्तरण गरिएको ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।