आचार्यलाई एकीकृत अखिल नेपाल शिक्षक संगठनको स्वागत

पोखरा महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका नवनियुक्त प्रमुख उपसचिव हेमप्रसाद आचार्यलार्इ एकीकृत अखिल नेपाल शिक्षक संगठनले स्वागत गरेको छ ।

संगठन जिल्ला समन्वय समिति कास्की अध्यक्ष तारानाथ पौडेलको नेतृत्वमा गएको टोलीले बिहीबार आचार्यलार्इ स्वागत गरेको हो । अध्यक्ष पौडेलले आफ्नै जिल्लामा समाज परिवर्तनको संवाहक क्षेत्र शिक्षा क्षेत्रको नेतृत्व सम्हाल्न आएकोमा आचार्यलाई बधाई ज्ञापन गरे । उनले आगामी दिनमा पोखरा महानगरपालिकाको शिक्षाको सुधारमा हातेमालो गर्न संगठन तयार रहेकोसमेत उल्लेख गरे ।

संगठनका पोखरा महानगर समिति अध्यक्ष भुवन सुवेदीले महानगरपालिकाका हरेक रचनात्मक कार्यमा आफ्नो समितिको हात र साथ रहने जनाए ।

पोखरा महानगरपालिकाकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको समेत जिम्मेवारी सम्हालेका आचार्यले आफू पदमा रहुन्जेल शैक्षिक क्षेत्रको सुधार र परिवर्तनका लागि सवैसँग सहकार्य गर्ने प्रतिवद्धता गरे । उनले कोभिड १९ ले शिक्षामा पारेको असरलाइ न्यूनीकरण गर्न आफुले तत्काल कदम चाल्ने र सोको योजना निर्माण भइरहेको जानकारी दिए ।

टोलीमा संगठनका जिल्ला उपाध्यक्ष विष्णु भट्टराई, महानगर समिति सचिव विकल पौडेल र जिल्ला समन्वय समिति सचिव प्रकाश रिजालसमेत थिए । नयाँ कार्यालय प्रमुख आउँदा स्वागत गर्ने संगठनको परम्परा रहेको र यसले हार्दिकता र सहकार्यको भावना बढाउने जिल्ला समिति सचिव प्रकाश रिजालले बताए ।