निर्वाचन क्षेत्र पुर्वधार विकास कार्यक्रम अन्तर्गत कास्की निर्वाचन क्षेत्र नं २ का विकास, निर्माण आयोजनाको स्थलगत अनुगमन गरिएको छ ।
आर्थिक बर्ष २०७६ ७७ मा पूर्वाधार विकास कार्यक्रम अन्तर्गत बिनियोजित बजेटबाट सो क्षेत्रमा सन्चालित बिभिन्न आयोजनाको प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले अनुगमन गरेकी हुन् । अनुगमनमा कास्की २ अन्तर्गतका स्थानीय तहका जनप्रतिनिधि, प्राविधिक तथा सञ्चारकर्मीसमेत सहभागी थिए ।
भट्टराईले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत विकासका पूर्वाधार निर्माणमा ठूलो टेवा पुगेको बताइन् । उनले विकास, निर्माणमा गुणस्तर अपरिहार्य भएको उल्लेख गर्दै तोकिएको समयमा काम सम्पन्न गर्न निर्देशनसमेत दिइन् ।

उपभोक्ता समितिका काम प्रशंसायोग्य भएको र केही योजना कोरोना महामारिका कारण प्रभावित भएकोतर्फ आफ्नो ध्यानाकर्षण भएको उनले सुनाइन् ।
केही स्थानीय उपभोक्ता समितिका पदाधिकारीले समयमै बजेट प्राप्त नहुँदा काममा ढिला सुस्ति भएको बताएका थिए । उनीहरुले पछिल्लो समय कोरोनाका कारण मजदूर नपाउदा समयमा काम सम्पन्न गर्न समस्या भएकोसमेत उल्लेख गरे ।
कास्की क्षेत्र न २ मा आर्थिक वर्ष २०७६(७७ मा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत ६ करोड रुपैयाँका ३६ योजना छन् ।




