बागलुङका मृतकको शव व्यवस्थापन

आइतबार बिहान मृत्यु भएका बागलुङको निसीखोला गाउँपालिका–२ देविस्थानका २९ बर्षिय युवाको शव व्यवस्थापन गरिएको छ ।

नेपाली सेनाले ढोरपाटन नगरपालिका–४ खुंगाको क्वारेन्टाइनमा मृत्यु भएका ती युवाको शव ढोरपाटन नगरपालिका–४ को जमुनाघाटमा व्यवस्थापन गरिएको हो । गण्डकीमा कोरोनाबाट मृत्यु भएकामध्ये शव व्यवस्थापनमा अवरोध नभएको आइतबारमात्र हो ।

यसअघि पोखरा र गोरखामा मृत्यु भएका ३ जनाको शव व्यवस्थापनमा अवरोध भएको थियो ।

बागलुङका मृतकको शवलाई स्काभेटरमा राखेर घाटसम्म पु¥याईएको थियो । लकडाउन अघि नै भारतमा उपचारका लागि गए पनि उपचार सम्भव नभएपछि उनी फर्किएका थिए ।

ढोरपाटन नगरपालिका स्वास्थ्य शाखा प्रमुख घनश्याम चालिसेले मृतकको परिवारका ५ जनामध्ये तीन जनाको कोरोना परीक्षण गर्दा रिपोर्ट आएको बताए । उनका छोराको भने फेरि स्वाब संकलन गरिने भएको छ ।