पोखरा १७ का पूर्व वडाध्यक्षले दिए १५० परिवारलाई राहत

पोखरा महानगरपालिका वडा नं १७ का पूर्व अध्यक्ष भरतबहादुर तमुले आफूले स्थापना गरेको बस्तीका १ सय ५० घरधुरीलाई सहयोग गरेका छन् ।

कोरोना संक्रमणका कारण समस्यामा परेका परिवार पहिचान गरी उनले व्यक्तिगत रुपमा ३ लाख रुपैयाँ वितरण गरेका हुन् । गुरुङ्गले तत्कालिन समयमा सुकुम्वासी ब्यबस्थापन गर्ने क्रममा पोखरा रातोपैह्रा स्थित हनुमान टोलमा बस्ती बसालेका थिए ।

हाल अमेरीका बस्ने गुरुङ्गले प्रतिहव्यक्ति २ हजारको दरले आर्थिक सहयोग गरेका हुन् । आइतबार भएको कार्यक्रममा पोखरा १७ का वडा अध्यक्ष तीर्थराज अधिकारी, पोखरा महानगरपालिका कार्यपालिका सदस्य राधिका शाहि योगी, नेकपा पोखरा १७ अध्यक्ष सुवास ढुंगाना, नेकपा कास्की जिल्ला सचिवालय सदस्य ओमबहादुर पौडेल तथा वडा सदस्य तारा सेवा, बैकुण्ठ भण्डारी लगायतको उपस्थिति रकम हस्तान्तरण गरियो ।

कार्यक्रममा गुरुङको परिवारका तर्फबाट शिला तमु, छोरी÷ज्वाईहरु शन्ध्या तमु, श्रीप्रसाद तमु, विन्ध्या तमु, आरती तमु र छोरी बुहारी कैलाश तमु पवित्र तमु उपस्थित थिए ।

वडाध्यक्ष अधिकारीले पूर्व वडाअध्यक्ष तमुको सहायताले महासंकटमा सहयोग पुग्ने बताए । कार्यकाल सकिएपछि पनि आफ्नो क्षेत्रका जनताप्रति उत्तरदायी बनेकोमा उनले गुरुङलाई धन्यवाद दिए ।

नेकपा वडा कमिटी अध्यक्ष सुवास ढुंगाना ले पार्टी अनुसारको जनप्रतिनिधिको पनि चरित्र फरक हुने उल्लेख गरे । सर्बहाराको नेतृत्व गर्नेहरुलाई मात्र मजदुरको पीडा थाहा हुने भएकाले अमेरीका बसेर पनि वडाको चिन्ता गरेकोमा उनले तमुप्रति कृतज्ञता व्यक्त गरे ।

महानगर कार्यपालिका सदस्य राधिका शाही योगीले कोरोना संकट समाधानमा यस्ता सहयोगको ठूलो भूमिका हुने बताइन् । नेकपा सचिवालय सदस्य ओमबहादुर पौडेलले गरिब, सर्वहाराको पार्टीले सोही वर्गलाई परेका पीडाको सम्बोधन गर्ने बताए ।