पोखरा १७ मा देखियो स्थानीय संक्रमण

पोखरा महानगरपालिका वडा नं. १७ मा आइतबार स्थानीय संक्रमण पुष्टि भएको छ । ट्राभल हिस्ट्री र संक्रमितहरुको प्रत्यक्ष सम्पर्क नदेखिएका ५३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

शरीर कमजोर र ज्वरो आएपछि एन्टीबायोटिक खाँदा समेत संक्रमितलाई ठीक भएन । त्यसपछि चिकित्सकको सल्लाहमा स्वाब जाँच गर्दा ती पुरुषलाई कोरोना संक्रमण पुटि भएको हो ।

यी संक्रमित डिपार्टमेन्टल स्टोर्स र विभिन्न स्थानमा गएको स्रोतले जनाएको छ । संक्रमित लेखा परीक्षणमा पेशामा संलग्न छन् । परिवारसँग बस्ने उनको असार १७ गते स्वाब संकलन भएको थियो ।

पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले स्थानीयमा पनि संक्रमण देखिएपछि थप सजग हुन वडावासीलाई आग्रह गरे । उनले भने, ‘व्यक्तिगत दूरी कायम गरी महामारीको मुकाविला गर्न आग्रह गर्दछु ।’

पछिल्लोअध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८८ पुगेको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा नयाँ ९ जना संक्रमित थपिएका छन् । गोरखाका ४ जना र कास्कीका ४ गरी ८ जनामा नयाँ संक्रमण पुष्टि भएको हो ।

अर्का १ गोरखाको पालुङटार नगरपालिका ७ का ४४ वर्षका संक्रमितको भने आइतबार बिहान निधन भएको थियो ।