लेखनाथ लायन्स अस्पताललाई ७० लाख अनुदान

गण्डकी सरकारले लेखनाथ सामुदायिक लायन्स अस्पताललाई ७० लाख ३४ हजार अनुदान दिएको छ । शुृक्रबार विहान भएको गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो ।

सरकारका प्रवक्ता रामशरण बस्नेतका अनुसार बैठकले विभिन्न ४ निर्णय गरेको छ । कोभिड १९ को उपचारका लागि प्रदेश सरकारले यो अस्पताल सञ्चालन गर्ने तयारी छ । अस्पतालमा भौतिक पूर्वाधार तयार गर्न, उपकरण किन्न र जनशक्ति थप गर्न अनुदान दिइएको प्रवक्ता बस्नेतले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको अस्थायी दरबन्दी स्वीकृत गरेको छ । अहिलेलाई ६ जनाको दरबन्दी सिर्जना गरिएको छ । यस्तै, प्रदेश लोक सेवा आयोगको पनि दरबन्दी स्वीकृत भएको छ । आयोगमा मौजुदा कर्मचारीबाटै काम चलाउने, सहयोगी र हलुका सवारी चालक आन्तरिक रुपमै व्यवस्था गरिने प्रवक्ता बस्नेतले बताए ।

बैठकले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको कार्यविधिको उपनियम १२ पनि संशोधन गरेको छ ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।