चिर्पटले हानी श्रीमानको हत्या

रुकुम, पूर्वमा श्रीमतीले आफ्ना श्रीमान्को हत्या गरेकी छिन् । सिस्ने गाउँपालिका वडा नम्बर २ प्वाङको सुद्रीमा २३ वर्षीय विछोड विकलाई २० वर्षीया पत्नी रेश्माले दाउराले हान्दा ज्यान गएको हो ।

पारिवारिक विवादका कारण गए राति ११ बजेतिर श्रीमतीले श्रीमानलाई दाउराले टाउकामा हान्दा ज्यान गएको वडा नम्बर २ का वडाध्यक्ष जीवन केसीले जानकारी दिए ।

आज बिहानमात्र घटनाबारे जानकारी पाइएको र प्रहरीलाई खबर गरिएको केसीले बताए । मृतक बिछोडको नाक, मुख र टाउकाबाट रगत बगेको जनाइएको छ । धेरै रगत बगेकै कारण मृत्यु भएको हुन सक्ने अध्यक्ष केसीले बताए ।

घटनाका बारेमा जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगिसकेको र रेश्मालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिए ।रासस