स्वास्थ्यकर्मीमा संक्रमण भएपछि गाउँपालिका बन्द

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा कार्यरत एक कर्मचारीमा कोभिड १९ पुष्टि भएपछि गाउँपालिका, वडा कार्यालय र बैंकसमेत बन्द गरिएको छ ।

गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले असार २१ गतेसम्म अर्थात् ५ दिन स्वास्थ्यचौकी बाहेक पालिकाका सबै कार्यालयहरु बन्द गर्ने निर्णय भएको जानकारी दिए । उनले भने, ‘ स्वास्थ्य शाखामा काम गर्ने १ कर्मचारीलाई पोजेटिभ देखियो । समुदायसम्म नपुगेर भनेर ५ दिनसम्मका लागि वडा कार्यालय, गाउँपालिका र बैंकहरु बन्द गर्ने निर्णय गरेका छौं ।’

ती संक्रमितको सम्पार्कमा आएका सर्वसाधारण, जनप्रतिनिधि र कर्मचारीको खोजपड्ताल भइरहेको उनले बताए । बुधबार बारपाक, सुलीकोटका २ जनामा संक्रमण पुष्टि भएको थियो । अर्का संक्रमित भने क्वारेन्टिनमा थिए ।