केल्बीनले बनाए ड्रोन

कक्षा ७ मा पढ्ने १३ वर्षीय बालकले आफैं प्रयास गरेर ड्रोन बनाएका छन्। राजधानीको काँडाघारीस्थित अक्षरा स्कुलमा पढ्ने केल्बीन संग्रौलाले तीन महिनाको प्रयासमा ड्रोन बनाएर उडाएका हुन्।

झापा दमकका केल्बीनले उडाएको ड्रोन हेर्न स्कुलमा आयोजित प्रथम अक्षरा शैक्षिक मेलामा सहभागीहरुको भिड लागेको थियो। ‘मैंले पहिलो पल्ट झापाको दमकमा उडाएको थिएँ,’ उनले भने, ‘स्कुलमा पनि हिजो उडाएको थिएँ।’

उनले तीन महिना लगाएर बनाएको बताए । ‘मैंले बनाएको ड्रोन दुई घर जति माथि जान्छ । यसको प्रकृति हेर्दा यो साढे दुई किलोमिटर टाढा सम्म जान्छ । यसले दुई किलो सम्म वोजन भएका सामान पनि बोक्न सक्छ।’

उनले फेसबुकमा ड्रोनको बारेमा जानकारी पाएपछि बनाउन हौसला आएका बताए। ‘फेसबुकमा यसबारे देखेपछि युट्युबमा खोजे,’ उनले भने, ‘युट्युबमा यसलाई बनाउने तरिका दिइएको थियो। त्यही आधारमा हेर्दै बनाउदै गरेको हो।’

उनले यसलाई बनाउन १५ हजार रुपैया खर्च भए पनि पछि धेरैपल्ट बिग्रेकाले सामान फेर्न १० हजार रुपैयाँ थप खर्च भएको बताए। ‘सामान किन्ने पैसा बुबाले दिनु भयो,’ उनले भने।