आइसोलेसनमा एक महिलाको मृत्यु

सिन्धुली अस्पतालको आइसोलेसनमा उपचाररत एक महिलाको मृत्यु भएको छ। महोत्तरीको पाटु घर भएकी वर्ष २१ की महिलाको उपचारका क्रममा बिहीबार राति आइसोलेसनमा मृत्यु भएको हो।

अत्याधिक ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि महिला बिहीबार दिउँसो अस्पतालको आइसोलेसनमा भर्ना भएकी थिइन्। ती महिलालाई आइसोलेसनमा राखेर उपचार गर्दैगर्दा मृत्यु भएको अस्पतालका कोभिड–१९ फोकल पर्सन डाक्टर प्रशन्न राजभण्डारीले बताए।

यही असार ३ गते पाटुबाट सिन्धुलीको घ्याङलेख गाउँपालिका १, सिम्ले स्थित माइती घरमा आएर बसेकी ती महिलालाई उपचारमा ल्याउन ढिला हुँदा मृत्यु भएको डा.राजभण्डारीले बताए।

मृत्यु भएकी महिलामा कोभिड–१९ को संक्रमणको लक्ष्यण देखिएकाले शुक्रबार बिहान उनको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि प्रादेशिक अस्पताल हेटौंडा पठाइएको डाक्टर राजभण्डारीले जानकारी दिए।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।