पोखरा १४ को मसिना टोल सिल गर्न सिफारिस

पोखरा महानगरपालिका वडा नं. १४ को एकै टोलमा ४ जना संक्रमण देखिएपछि वडा कार्यालयले सो टोललाई सिल गर्न पत्राचार गरेको छ ।

वडाध्यक्ष प्रेमबहादुर कार्कीले बुधबार कास्कीका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गर्दै सो क्षेत्र सिल गरी संक्रमण फैलिन नदिन आग्रह गरेका छन् ।

बुधबार साँझ पौने ७ बजेको अपडेट अनुसारगण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय ४२ पुगेको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परीक्षणमा थप १३ संंक्रमित भएका छन् ।

पछिल्लो अपडेटमा स्याङ्जाको गल्याङ नगरपालिकाकामा ७ जना र गोरखाको गोरखा नगरपालिकामा २ जनामा संक्रमण पुष्टि भएको छ । कास्कीको पोखरा महानगरमा २०, २३, ३० र ३६ वर्षका ४ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

अहिलेसम्म कास्कीमा संक्रमितको संख्या ३४ पुगेको छ भने ५ जना निको भएर डिस्चार्ज भएका छन् ।