रुकुम घटना : २३ जना पुर्पक्षका लागि थुनामा, किशोरीकी आमा रिहा

फाइल फोटो : नवराज विक

६ जनाको ज्यान गएको रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनाका संलग्न भएको आरोप लागेका वडाध्यक्ष डम्मरबहादुर मल्लसहित २३ जनालाई पूर्पक्षका लागि थुनामा पठाइएको छ ।

जिल्ला अदालत रुकुमकोटले यस्तो आदेश गरेको हो। जिल्ला अदालत रुकुमकोटले युवक नवराज विकसँग प्रेम सम्बन्ध भएकी युवतीकी आमालाई भने १ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ। प्रतिवादी बनाइएका २ नाबालक सुधारगृह चलान भइसकेका छन् भने अझै ५ जना फरार छन्।

अदालतले ३ जनालाई भने साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। जिल्ला सरकारी वकिल कार्यालय रुकुम पश्चिमले उक्त घटनामा संलग्न भएको आरोपमा ३४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।