शिशुवा अस्पताललाई ५५ लाख, सरुवा रोग अस्पताल पनि बन्ने

पोखरा महानगरले सरुवा रोग अस्पताल बनाउने भएको छ । अस्पताल निर्माण गर्न सम्भाव्यता अध्ययन तथा सञ्चालनका लागि महानगरले आगामी वर्ष कार्य गर्ने भएको छ।

महानगरले निजी क्षेत्रबाट सञ्चालित अस्पताल, फार्मेसी लगायत निजी स्तरमा सञ्चालित स्वास्थ्य संस्थाको नियमित अनुगमन गर्ने भएको छ । शिसुवा अस्पताल सवलीकरणका लागि ५५ लाख बजेट प्रस्ताव गरिएको छ ।

महानगरले टोल विकास संस्थाको सहकार्यमा आफ्नो आँगन आफै बनाऔ अभियान सञ्चालन गर्ने भएको छ । महानगर क्षेत्रभित्र वैकल्पिक ल्यान्डफिल साइट सञ्चालनका लागि पनि बजेट विनियोजन भएको छ ।

प्रदेश र संघ सरकारसँगको सहकार्यमा ९ वटा आकस्मिक स्वास्थ्य संस्था सञ्चालन गर्ने महानगरको योजना छ । आइएनएफसँगको साझेदारीमा महानगरभित्र स्वास्थ्य कार्यक्रम संचालनका लागि १३ करोड बजेट छ ।

वडामा दन्त शिविर स्वास्थ्य कार्यक्रम, घुम्ती स्वास्थ्य शिविर र सुरक्षित सुत्केरी कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गर्न ५२ लाख बजेट छ । स्वास्थ्य बिमाको कार्यक्रमलाई अनिवार्य गर्ने प्रबन्धका साथै ज्येष्ठ नागरिक स्वास्थ्य उपचारका लागि पनि बजेट छ ।

आगामी वर्ष विश्व स्वास्थ्य संगठन तोकेको बि तहका १ एम्बुलेन्स र १ शव वाहन किन्न ९० लाख बजेट प्रस्ताव गरिएको छ ।

महानगरको सातौं नगरसभामा उपप्रमुख मञ्जुदेवी गुरुङले बुधबार ६ अर्व १९ करोड ७१ लाख ७८ हजारको बजेट पेश गरेकी हुन् ।