पोखरामा बढ्यो संक्रमण, के छ तयारी ?

जेठ २३ गते पहिलो संक्रमण पुष्टि भएको पोखरा महानगरमा मंगलबार एकै दिन ७ जनामा संक्रमण पुष्टि भएको छ । एकै दिन यति धेरै जनामा संक्रमण पुष्टि भएपछि पोखरेली समुदाय स्तरमै फैलिन्छ कि भन्ने त्राससमेत बढेको छ ।

मंगलबारमात्रै पोखरामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो अपडेट अनुसार गण्डकीमा संक्रमितको संख्या ६ सय ९७ भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा पोखरा महानगरका ४० वर्षका एक र २२ वर्षका २ पुरुषमा संक्रमण पुष्टि भएको हो । यस्तै, ५४, २२, २७ र ३४ वर्षका ४ महिलामा पनि संक्रमण पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र भरतपुर अस्पतालमा गरिएका परिक्षणमा थप १ सय ४ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज ५ सय ३८ नयाँ संक्रमित देखिएका छन् भने हालसम्म २ हजार २ सय २४ जना निको भएको छन् ।

महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेल अहिले करिब २ सय जना पोखरा महानगरका १० क्वारेन्टिनमा रहेको बताउँछन् । संक्रमण बढ्दै गए क्वारेन्टिनको संख्या पनि बढाउने तयारी छ । महाशाखा प्रमुख पौडेल भन्छन्, ‘३३ वटै वडाले क्वारेन्टिन स्थल पहिचान गरेर पठाएका छन् । सेवा, सुविधा उपलब्ध गराउन सजिलोका लागि अहिले १० क्वारेन्टिन सञ्चालनमा छन् । आवश्यक परे क्षमता बढाउन र क्वारेन्टिनको संख्या बढाउन सकिन्छ ।’

संक्रमण बढ्दै गए पनि सामाजिक दूरी कायम नभएको र बजार र सार्वजनिक स्थलमा समेत भीडभाड देखिन्छ ।

गण्डकी प्रदेशको राजधानी पोखरामा १३ बेडको आइसियु छ भने ६ वटा भेन्टिलेटर छन् । प्रदेशका अरु जिल्लामा भेन्टिलेटर र आइसियु छैनन् । जनस्वास्थ्य विज्ञ डा रवीन्द्र पाण्डे संक्रमितमध्ये करिब साढे २ प्रतिशतलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्था आउन सक्ने बताउँछन् ।

गण्डकीमा संक्रमण बढ्दै गए भेन्टिलेटरको अभाव हुने निश्चित देखिन्छ । गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० बेडको आइसोलेसन रहेकोमा बिरामी अधिक भएपछि मेडिकल वाडलाई आइसोलेनका रुपमा प्रयोग गरिएको छ । प्रतिष्ठान अन्तर्गतको क्षेत्रीय अस्पतालले आफ्नै हाताभित्रै प्रिआइसोलेसन वार्ड बनाउँदै छ । अस्पतालका निर्देशक डा अर्जुन आचार्य संक्रमितको संख्या थपिँदै जाँदा प्रिआइसोलेसन अत्यावश्यक भएको बताउँछन् ।

विस २०६८ को जनगणना अनुसार पोखराको जनसंख्या ४ लाख २ हजार ९ सय ९५ छ । करिब यतिकै संख्यामा पोखरामा बाहिरका मानिस पनि बस्ने अनुमान छ । संक्रमण बढ्दै गए पनि सामाजिक दूरी कायम नभएको र बजार र सार्वजनिक स्थलमा समेत भीडभाड देखिन्छ ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।