मंगलबारमात्रै पोखरामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो अपडेट अनुसार गण्डकीमा संक्रमितको संख्या ६ सय ९७ भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा पोखरा महानगरका ४० वर्षका एक र २२ वर्षका २ पुरुषमा संक्रमण पुष्टि भएको हो । यस्तै, ५४, २२, २७ र ३४ वर्षका ४ महिलामा पनि संक्रमण पुष्टि भएको छ । ह्याम्पस अस्पतालबाट कास्कीका १ पुरुष निको भई आजै डिस्चार्ज भएका छन् ।
पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र भरतपुर अस्पतालमा गरिएका परिक्षणमा थप १ सय ४ जनामा संक्रमण पुष्टि भएको हो । उनीहरुलाई सम्बन्धित जिल्लामा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशनालय गण्डकीका प्रवत्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।
पछिल्लो अपडेट अनुसार देशभर क्वारेन्टाइनमा ८५ हजार ८ सय १३ जना छन् भने आइसोलेसनमा ७ हजार ८ सय ५१ जना छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज ५ सय ३८ नयाँ संक्रमित देखिएका छन् भने हालसम्म २ हजार २ सय २४ जना निको भएको छन् ।




