कास्कीको मादीमा १९ महिने बालिकालाई कोरोना

कोरोना संक्रमण कास्कीका ३ पालिका पुगेको छ । मादी गाउँपालिकामा एक १९ महिने बालिकामा संक्रमण पुष्टि भएको छ । मादीमै ४१ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

ती बालिकाका बुबा २२ दिनअघि भारतबाट घर फर्किएका थिए । उनका बाबुको रिपोर्ट भने नेगेटिभ आएको छ ।

गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ श्यामले शिशुका बुवा गाउँ आएपछि सिधै क्वारेन्टिनमा बसेको उल्लेख गरे । एक पटक बालिकालाई खानेकुरा दिन ती पुरुष गएको थाहा पाएपछि परिवारकै कोरोना परीक्षण गरिएको थियो । परीक्षणमा शिशुबाहेक उनको परीवारका सबै सदस्यको रिपोर्ट नेगेटिभ आएको छ ।

मादी गाउँपालिकाका विभिन्न वडामा रहेका क्वारेन्टिनमा अहिले १९ जना छन् ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ सय ३८ पुगेको छ। शनिबार बिहान अध्यावधिक विवरण अनुसार नयाँ ५८ जना संक्रमित फेला परेका हुन् ।

संक्रमितमध्ये एक ३० वर्षीया महिला र एक १९ महिने शिशु छन् बाँकी सबै पुरुष हुन् । तनहुँमा २५, नवलपुरमा १६, गोरखामा ५, कास्की २, म्याग्दी १, स्याङ्जामा १ र बागलुङमा ८ जनामा कोरोना पुष्टि भएको हो ।

ती सबै संक्रमित सम्बन्धित पालिकाको क्वारेन्टाइनमा रहेको र सम्बन्धित जिल्लामा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भएको प्रदेश स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।