संविधान संशोधन विधेयक प्रमाणीकरण

लिम्पियाधुरासम्मको भूभाग नेपालको निशान छापमा समावेश गर्ने संविधान संशोधन विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रमाणीकरण गरेकी छिन्।

विधेयक बिहीबार राष्ट्रियसभाले सर्वसहमतिले पारित गरेर फिर्ता पठाएपछि सभामुख अग्निप्रसाद सापकोटाले तत्कालै प्रमाणित गरी राष्ट्रपति कार्यालय पठाएका थिए। राष्ट्रपति कार्यालय पुगेको केही घण्टा पनि बित्न नपाउँदै राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयक प्रमाणीकरण गरेकी हुन् ।

प्रमाणीकरण भएपछि अब लिम्पियाधुरा, कुटी, गुञ्जी, नावीसहितको भूमाग संविधानमै समेटिन पुगेको छ। नक्सालाई संविधानको अनुसूची–३ मा रहेको नेपालको राष्ट्रिय चिन्हमा समावेश गर्न सरकारले जेठ ९ गते प्रतिनिधिसभा सचिवालयमा संविधान विधेयक पेश गरेको थियो। त्यसअघि जेठ ७ गते सरकारले भारतले अतिक्रमणमा गरेको भूभाग समेटेर राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो।

प्रतिनिधिसभाका २७५ सदस्यमध्ये विधेयकको पक्षमा २५८ जना सांसदले मतदान गरेका थिए। विपक्षमा एक मत पनि परेन । बिहीबार राष्ट्रियसभामा पनि ५९ मध्ये ५७ जना सांसदले विधेकको पक्षमा मतदान गरेर सर्वसहमति जुटेको थियो ।