कविता : ए खहरे

ए खोला नउर्लन ,उन्मादमा
खहरे क्षणिक गडगडाहट नगर
डाँडाको सिमसिम वर्षातमा
गडगडाउने खहरे घमण्ड नगर
एकै क्षणको उर्लानमा
महा सिन्धु कहिल्यै गडगडाउँदैन
अनवरत एउटै अडानमा
ए खोला उन्माद नगर न
नकुर्ल क्षणिक आडम्बरमा

चैत याममा निदाउने खहरे
बढ्ता बडप्पन नगर
प्रगति अवनति सँगै आउँछन्
दुःख सुख सँगै आउँछन्
यो सापेक्षताको संसारमा
ठूला अनि सानालाई हेर
वर्षा यामको ए खोला
बढ्ता अहम् नगर ।

अनन्त यो ब्रहमाण्डमा
फराकिलो निलिमामा
अविराम गतिशिलतामा
बढ्नु छ है अगाडि नै
अनन्त अनन्तसम्म
यात्रा गर्नु छ है लक्ष्यसम्म
ए खोला नकुर्ल न उन्मादमा
खहरे क्षणिक उन्माद नगर
आफ्नै आडम्बरमा