नवौं राष्ट्रिय खेलकूद व्यवस्थापन र प्रशिक्षणका लागि डेढ करोड

गण्डकी प्रदेशले नवौं राष्ट्रिय खेलकूद प्रतियोगितामा भाग लिने प्रदेशका खेलाडीको आवश्यक व्यवस्थापन र प्रशिक्षणका लागि १ करोड ५० लाख विनियोजन गरेको छ ।

गण्डकी प्रदेशसभमा अर्थमन्त्री किरण गुरुङले प्रस्तुत गरेको बजेटमा यो उल्लेख छ । प्रदेश सरकारको तर्फबाट विजयी खेलाडीलाई पुरस्कृत गर्ने आवश्यक व्यवस्थासमेत मिलाएको उनको भनाइ छ ।

प्रदेशले प्रदेश स्तरीय बहुउद्देश्यीय रङ्गशाला, क्रिकेट रङ्गशाला, गल्फकोर्स, स्की, उच्च उचाई खेलकुद तालिम केन्द्र, जिल्लास्तरीय रङ्गशाला र एक स्थानीय तह एक खेलकुद मैदान निर्माणका लागि ८ करोड ३५ लाख विनियोजन गरेको छ ।

अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना र खेलाडीलाई प्रोत्साहन गर्न तथा समग्र खेलकुद क्षेत्रको विकासका लागि पनि आवश्यक बजेट विनियोजना गरेको जनाउँदै उनले मुख्यमन्त्री कप फुटबल प्रतियोगितालाई निरन्तरता दिएको जानकारी दिए ।