गण्डकी सरकारले प्रदेशमा सरुवा रोग अस्पताल निर्माण गर्ने योजना अघि सारेको छ । सोमबार प्रदेशको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री किरण गुरुङले अत्याधुनिक प्रविधिसहितको सुविधा सम्पन्न संक्रामक तथा सरुवा रोग अस्पतालको स्थापना र सञ्चालन गर्न ५ करोड बजेट विनियोजन गरेको जनाए ।
प्रदेशमा मुटु, मृगौला, क्यान्सर र मातृ तथा बालरोगसम्बन्धी विशिष्टीकृत अस्पताल निर्माण गर्ने कार्यक्रमका लागि यस वर्ष २ करोड बजेट छ । नेपाल सरकारसँगको सहकार्यमा सबै जिल्ला अस्पताललाई २५ देखि ५० शैया र धौलागिरी अस्पताललाई २ सय शैयाको जनरल अस्पतालमा स्तरोन्नति गर्ने प्रदेशको योजना छ ।
प्रदेश सरकारको स्रोतबाट सबै जिल्ला अस्पतालमा २ शैयादेखि ५ शैयाको सघन उपचार कक्ष निर्माण गर्ने बजेट वक्तव्यमा उनले उल्लेख गरे । ५० शैया भएका अस्पतालमा आँखा उपचार सेवा, ज्येष्ठ नागरिक उपचार वार्ड र मृगौला पीडित बिरामीका लागि डायलाइसिस सेवा सञ्चालन योजना छ । यी कार्यक्रमका लागि २८ करोड ४० लाख विनियोजन भएको छ ।
सबै जिल्ला अस्पताललाई २५ देखि ५० शैया र धौलागिरी अस्पताललाई २ सय शैयाको जनरल अस्पतालमा स्तरोन्नति गर्ने प्रदेशको योजना
नेपाल सरकारसँगको समन्वयमा प्रदेशका सबै नागरिकलाई आगामी ३ वर्षभित्र स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गर्ने प्रदेशको योजना छ । यसका लागि यो वर्ष २ करोड छुट्याइएको छ । नेपाल सरकारसँगको सहकार्यमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृगौला र मुटुरोगको विशिष्टीकृत उपचार सेवा प्रारम्भ गर्न पनि प्रदेश सरकारले बजेट विनियोजन गरेको छ ।




