ट्राभल एजेन्सी सञ्चालकद्वारा सम्पादकलाई सिध्याइदिने धम्की, पत्रकार महासंघको आपत्ति

नेपाल पत्रकार महासंघले समाचारको विषयलाई लिएर काठमाडौं प्रेसका प्रबन्ध सम्पादक गोविन्द परियारलाई सिध्याइदिन्छु भन्दै सुमेग ट्राभल एजेन्सीका सञ्चालक मेघ केसीले दिएको धम्कीप्रति आपत्ति जनाएको छ।

महासंघले आइतबार प्रेस विज्ञप्ति निकालेर केसीले अपशब्द प्रयोग गर्दै धम्की दिएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाउादै धम्की दिनेलाई तत्काल कानुनी दायरामा ल्याउन र पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन समेत सम्बन्धित निकायसँग माग गरेको छ।

आइतबार बिहान ११ः५ बजे केसीले ९८५१०८२५१२ नम्बरको मोबाइलबाट फोन गरी धम्की दिएको विज्ञप्तिमा उल्लेख छ ।

जेठ २५ गते काठमाडौं प्रेसले ‘पर्यटनमन्त्रीकै संरक्षणमा चार्टर्ड उडानमा ब्रम्हलुट’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो। समाचारमा सुमेग ट्राभल्ससँगै हार्भेस्ट मुन र सिरिन ट्राभल्स लगायतले चार्टर्ड उडानमा महँगो शुल्क असुलेको उल्लेख छ।