लेखनाथ सामुदायिक लायन्स अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण गर्न गठित अध्ययन समितिले सोमबार प्रतिवेदन बुझाएको छ ।
समितिले सामाजिक विकास मन्त्री नरदेवी पुन मगरमार्फत मुख्यमन्त्रीसमक्ष प्रतिवेदन पेश गरेको हो । कोरोना संक्रमणको त्रास सुरु भएपछि लेखनाथ सामुदायिक अस्पताललाई कोरोना डेडिकेटेड अस्पताल बनाउने प्रदेश सरकारले जनाएको थियो ।
तर पछि गण्डकी अस्पतालमै कोरोना संक्रमितको उपचार थालियो । अन्य रोगका बिरामी पनि उल्लेख मात्रामा जाने गण्डकी अस्पतालमा कोरोनाको उपचार गर्दा संक्रमण फैलिनसक्ने भन्दै विरोध पनि भइरहेको छ ।
लेखनाथ सामुदायिक लायन्स अस्पताललाई गण्डकी प्रदेश सरकारको स्वामित्वमा ल्याउनका लागि १० सदस्यीय समिति गठन गरिएको थियो । समितिमा प्रदेश सरकारको तर्फबाट गण्डकीका स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्मा, सामाजिक विकास मन्त्रालयका डा रामबहादुर केसी, मुख्यमन्त्री कार्यालयका अधिकृत कृष्णप्रसाद आचार्य र आर्थिक मामिला तथा योजना मन्त्रालयका अधिकृत विशाल तिमिल्सिना छन् ।
यस्तै, समितिमा लेखनाथ सामुदायिक अस्पतालको तर्फबाट अध्यक्ष रामनाथ पौडेल, निवर्तमान अध्यक्ष रामप्रसाद गुरुङ, उपाध्यक्ष दुर्गाप्रसाद अधिकारी, सचिव कृष्णप्रसाद तिवारी, कोषाध्यषचिरञ्जीवी तिवारी र पोखरा ३० का वडाध्यक्ष श्रीराम पोख्रेल थिए ।




