पोखरेली वाङ्मयिक संस्थाले भने : सबै खाले विभेद अन्त्य गर

पोखराका साहित्यिक एवं सांस्कृतिक संस्थाहरुले रुकुमको जौरजहारी र अमेरिकाको जर्ज फ्लोयड हत्या जस्ता पासबिक घटनाहरु विरुद्ध भएका आन्दोलन प्रति ऐक्यवद्धता जनाएका छन् ।

सोमबार संयुक्त विज्ञप्ति निकालेर गण्डकी साहित्य सङ्गम पोखरा, प्रगतिशील लेखक सङ्घ, कास्की, पुष्पकमल सुवेदी स्मृति प्रतिष्ठान, विजय ढकाल सहिद स्मृति प्रतिष्ठान, साहित्य शृङ्खला, पोखरा, सांस्कृतिक रूपान्तरण अभियान नेपाल र सङ्गम सांस्कृतिक मञ्च पोखराले त्यस्ता जातीय विभेदको भत्र्सना गर्दै सबै खाले विभेद, अन्याय र उत्पीडन विरुद्धका आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गरेका हुन् ।

विज्ञप्तिमा जेठ १० गते रुकुमको चौरजहारीमा जातीय विभेद र अहङ्कारका कारण नवराज विकसहितका ६ जना युवाको क्रुरतापूर्वक हत्या भएको घटनाप्रति भत्र्सना गरिएको छ । ‘यस घटनाले जातिभेदलाई संस्कारका रूपमा कायम राख्ने हाम्रो समाज–व्यवस्थाको कुरूप चरित्रलाई मात्र उजागर गरेको छैन, एक्काइसौं शताब्दीको सिङ्गो मानव सभ्यताकै धज्जी उडाएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

सामाजिक–राजनीतिक परिवर्तनका लागि भएका पटक–पटकका आन्दोलन र सङ्घर्षपश्चात् स्थापना भएको गणतान्त्रिक व्यवस्था र वामपन्थी सरकार भएको मुलुकमा जातीय, लिङ्गीय र वर्गीय विभेदका हिंसात्मक घटनाहरू दोहोरिरहनु विडम्बनापूर्ण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा यो घटनाको निष्पक्ष छानबिन गरी आपराधिक घटनामा संलग्न दोषीलाई हदैसम्मको कारवाही गरी त्यस्ता घटनाहरू सदाका लागि अन्त्य गर्नका लागि आवश्यक सामाजिक तथा कानुनी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।