अन्नपूर्णमा ५-७ सय विदेशबाट आउने अनुमान

- राहतको सट्टा काम दिएको गाउँपालिकाले अब भने कठिन अवस्था अएको जनाएको छ

अढाइ महिने लकडाउनमा राहत नबाड्ने स्थानीय तह हो कास्कीको अन्नपूर्ण । २०६८ को जनगणना अनुसार गाउँपालिकको जनसंख्या २५ हजार ५ सय ६५ छ । अब गाउँपालिकामा भारत र अन्य देशबाट ५ सयदेखि ७ सय नेपाली फर्किने अनुमान छ ।

यसअघि राहतलाई निरुत्साहित गरी मजदुरलाई काम दिएको पालिकाले अब भने कठिन अवस्था आएको जनाएको छ । तत्काल मजदुरलाई काम लगाउन मिल्ने योजना नरहेको र विदेशबाट ठूलो संख्यामा मानिस फर्किए सुरक्षा मुख्य चुनौती हुने देखिन्छ ।

गाउँपालिका अध्यक्ष युवराज कुँवर पालिकाका हरेक वडामा १ क्वारेन्टिन बनाइएको बताउँछन् । जेठ २३ गते पोखरा महानगर र २४ गते रुपामा समेत कोरोना संक्रमण देखिएपछि कास्कीमा कोरोनाको त्रास बढेको छ ।

पालिकाकाले सरकारी स्कुलहरुमा क्वारेन्टाइन बनाएको छ । पालिकामा २ सय २५ जना अट्ने क्वारेन्टाइन बनाइएको छ । अध्यक्ष कुँवर अन्नपूर्णका ३ हजार ६ सय जति बासिन्दा विदेश रहेको अनुमान गर्छन् ।

अहिले अन्नपूर्णमा होम क्वारेन्टाइनमा ४ जना र पालिकाको क्वारेन्टिनमा ३ जना छन् । क्वारेन्टिनहरुको सरसफाई, पानी, बत्ती, शौचालय आदिको व्यवस्था गाउँपालिकाले गरिरहेको छ ।