विश्व वातावरण दिवसमा पोखरा लेडी जेसीजको वृक्षारोपण

नेपाल जेसिजको निर्देशन अनुसार पोखरा लेडी जेसिजले शुक्रबार आवश्यक दूरी कायम गर्दै वृक्षारोपण गरेको छ ।

पोखरा महानगरपालिका ७ स्थित पुष्पलाल पार्कमा “प्रति व्यक्ति, एक बिरुवा जिम्मेवारी” भन्ने नाराका साथ पोखरा लेडी जेसीजले वृक्षारोपण गरेको संयोजक रिना पौडेलले जानकारी दिइन् । पोखरा लेडि जेसिजको नियमित कार्यक्रम अन्तरगत भएको बृक्षारोपणको अध्यक्षता पोखरा लेडी जेसिज वर्ष २०२० का अध्यक्ष शोभा भुजेलले गरेकी थिइन् ।

कार्यक्रममा पोखरा ७ का वडाध्यक्ष रामचन्द्र बराल, पोखरा महानगरपालिका न्यायीक समिति सदस्य किशोर बराल, पोखरा लेडी जेसीजका पूर्व अध्यक्ष संगिता पौडेल, निवर्तमान अध्यक्ष सपना गिरी र पोखरा लेडी जेसीजका पदाधिकारीले लिची, आँप, एबागाडो, मेवा, धुपी, अम्बा, कागती लगायतका विरुवा रोपेका थिए ।

पूर्व अध्यक्ष संगीता पौडेलले बिश्वको यो परिवर्तन हुँदै गईरहेको बातावरणलाई जोगाउनका लागि पनि सकेसम्म रूख जोगाउन पट्टी लाग्नुपर्नेमा जोड दिए । पोखरा महानगरपालिकाका न्यायीक समिति सदस्य किशोर बरालले रूखबिरूवाहरूलाई उचित संरक्षणको आवश्यकता हुने बताए ।

वडाध्यक्ष रामचन्द्र बरालले कार्यक्रमले वडालाई अझ सुन्दर बनाउनेमा आफू बिश्वस्त रहेको तथा संरक्षणमा आफूले योगदान दिने बताए । कार्यक्रम संयोजक रिना पौडेलले जीवन भरिमा प्रयोग गरिने आक्सिजनको भार यस धर्तिलाई तिर्न तथा आगामी पुस्तालाई पनि आक्सिजन पुर्याउन रुख रोप्नुपर्ने बताइन् ।

महासचिव गायत्री फुयालले सञ्चालन गरेको कार्यक्रममा कार्यक्रमको अध्यक्षता गरेकी पोखरा लेडी जेसिजकी अध्यक्ष शोभा भुजेलले हरेक सकारात्मक परिवर्तनका लागि युवाले नेतृत्व लिन सकेमा समाज परिवर्तन हुने बताइन् ।