जेठ २२ गते २०७७

ताजा समाचार

जेठ २२ गते २०७७

राष्ट्रिय अनलाइन वक्तृत्वकला प्रतियोगिता सुरु



नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीले आजदेखि विद्यार्थीसँग शिक्षक संगठन भन्ने उद्घोषका साथ राष्ट्रिय अनलाइन वक्तृत्वकला प्रतियोगिता सुरु गरेको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतियोगिता उद्घाटन गर्दै अहिलेको अवस्थामा वैकल्पिक उपाय अपनाएर विद्यालय सञ्चालन विचार राखे । उनले शिक्षक संगठनले अनलाइनमार्फत् विविध कार्यक्रम गरेर आफ्नो जिम्मेवारी निर्वाह गरेकोमा खुसी लागेको बताए । प्रविधिमैत्री विद्यालय, अनलाइन कक्षा र शिक्षणका वैकल्पिक उपायहरु सञ्चालन गर्नका लागि प्रदेश सरकारले गर्नुपर्ने सहयोग गर्ने प्रतिबद्धता जनाए ।

नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय अध्यक्ष लक्ष्मण शर्माले शिक्षकहरु प्रविधिमा जोडिनुपर्ने अवस्थामा जुममार्फत् पहिलो चरणमा शिक्षकलाई अनलाइन क्लासका तालिम र अहिले नेपालभरका विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता गर्नु राम्रो कार्य भएको बताए । इसिडी शिक्षक र विद्यालय कर्मचारीको तलब अत्यन्त कम भएको र वृद्धि नभएकोमा दुख व्यक्त गर्दै उनले वृद्धिका लागि शिक्षक संगठनले हरतरहबाट प्रयास गरिरहेको सुनाए ।

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले संगठनले गरेको कार्य सह्रानीय भएको उल्लेख गरे । नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले कोरोनाको कहर र जारी लकडाउनको विषम परिस्थितिमा पनि आफ्नो जिम्मेवार भूमिका निर्वाह गर्दै वैकल्पिक उपाय अन्तर्गत विद्यार्थीका लागि अनलाइन वक्तृत्वकला प्रतियोगिता गर्नु प्रशंसनीय भएको बताए ।

नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेशका अध्यक्ष राम पोख्रेलले अब शिक्षक र शिक्षा क्षेत्र नयाँ युगमा प्रवेश गरेको तर्क गरे । वक्तृत्वकला प्रतियोगितामा देशभरबाट ९७ विद्यार्थी सहभागी छन् ।

उद्घाटन सत्रमा प्रतियोगीहरु आकृति पौडेल, आर्यन झा, आशिष बस्याल, काशिष काफ्ले, आस्था अनिरञ्जित बस्ताकोटी र अविनास पौडेलले वक्तृत्व प्रस्तुत गरेका थिए । विभिन्न चरण गरी १३ दिनसम्म चल्ने वक्तृत्वकला प्रतियोगिताका निर्णायक मण्डलमा त्रिभुवन विश्वविद्यालयका प्रा.डा. यदुनन्दन उपाध्याय, त्रिभुवन विश्वविद्यालयका सहप्रा.डा. पुण्यप्रसाद शर्मा र पृथ्वीनारायण क्याक्पसका प्राध्यापक डोलराज अर्याल छन् ।

प्रतियोगितामा प्रथम हुनेले २५ हजार, दोस्रोले १५ हजार र तेस्रो हुनेले १० हजार पाउने छन् । ७ जनालाई जनही २ हजार र सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिने कार्यक्रममा संयोजक तीर्थराज ढकालले जानकारी दिए ।

कार्यक्रममा संगठन इलामका अध्यक्ष प्रकाश खनाल, कुल्याब्स डट कमका अधिप पौडेल, शिक्षा विकास निर्देशनालयका प्रमुख तिलक सिलवाल, शिक्षा विकास तथा समन्वय एकाई कास्की प्रमुख नारायण सुवेदी, संगठन उपाध्यक्ष वसुन्धरा पौडेल र संगठन कास्की उपाध्यक्ष हर्कबहादुर लामिछानेले बोलेका थिए । कार्यक्रम संगठनका कास्की जिल्ला अध्यक्ष रोमहर्षण पौडेलको अध्यक्षतामा भएको थियो ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं