बाबुराम कामी लेखौं न, के हुन्छ ?

file pix

सजपा नेता डा बाबुराम भट्टराईले हालै रुकुममा भएको घटनाले मर्माहत बनाएको उल्लेख गरेका छन् । उनले दलितहरुमाथि भइरहेको दलन हटाउन सबैलाई थर दलित लेख्न आग्रह गरे ।

उनले भने, ‘बाबुराम कामी लेखौं न । कामी भनेको काम गर्ने मान्छे हो ।’ जनयुद्धको उद्गम स्थलमा भएको त्यस खालको घटनाले सबैको शिर निहुराएको उनको भनाइ छ । आइतबार प्रतिनिधिसभामा बजेटसम्बन्धी छलफलमा बोल्दै उनले विश्वका ८१ प्रतिशत श्रमिकले कोभिडाका कारण आफ्नो काम पूर्ण वा आंशिक रुपमा गुमाएको उल्लेख गरे ।

यसको असर एसियामा अझ बढी पर्ने उनलेको भनाइ छ । उनले भने, ‘यसै त लिखा हामी, बोसो झिक्दा के हुन्छ ?’ बजेटको सिद्धान्त सकारात्मक भए पनि आत्मसाक्षी राखेर भन्दा संकट समाधान गर्ने खालको बजेट नआएको उनको ठम्याइ छ ।

भट्टराईले अहिलेको बजेट वैचारिक समस्यामा परेको प्रतिक्रिया राखे । धूमपान र मध्यपानबाट ५ प्रतिशत आम्दानी, अनुदान, ऋण र रक्सी र चुरोट बेचेको आम्दानीले अर्थतन्त्र चलाउने अवस्थाले देशको समृद्धि नहुने उनको भनाइ छ ।

व्यापारका निम्ति स्वास्थय क्षेत्र हुनु नहुने उल्लेख गर्दै उनले ६ प्रतिशत बजेट स्वास्थ्यमा रहेकाले कोभिडसँग मुकाबिला कसरी हुन्छ भनी प्रश्न गरे । बैचारिक पिंजडामा नबसी कमसेकम १० प्रतिशत स्वास्थ्यमा लगानी हुनुपर्ने उनको भनाइ छ । उनले सम्पत्ति अभिलेखीकरण थाल्न र क्रमश सम्पत्तिमा प्रगतिशील कर लगाउन सुझाव दिए ।

संघीयताको मर्मलाई अझै आत्मसात् गर्न बाँकी रहेको उनको भनाइ छ । ५० हजार कर्मचारी केन्द्रमा किन चाहियो भन्ने प्रश्न गर्दै उनले कर्मचारीतन्त्रको नयाँ संरचना बनाउन माग गरे ।
संसद विकास कोषले साह्रै लज्जित बनाएको उल्लेख गर्दै उनले समानुपातिक विकासको मार्ग खोज्दै यो कोष बन्द गर्न सुझाव दिए । लिपुलेक, कालापानी नक्सा जारी भएको र अब यसलाई सर्वसम्मत पारित गर्नुपर्ने उनको भनाइ छ ।