सञ्चारिका समूह गण्डकी प्रदेशले पोखराका बिभिन्न सञ्चार माध्यममा सक्रिय रुपमा पत्रकार महिलाका लागि कोभिड १९ बाट सुरक्षित बनाउन सुरक्षा सामग्री वितरण गरेको छ ।
कोरोना महामारिका बेला जोखिम मोलेर काम गरिरहेका पत्रकार महिलाको सुरक्षा प्रत्याभूति अभियान अन्तर्गत सञ्चारिकाले पहिलो चरणमा यो कार्यक्रम गरेको हो । लकडाउनको नियमानुरुप सामाजिक दूरी कायम गर्दै नेपाल पत्रकार महासंघ कास्कीमा आयोजना गरिएको कोरोना जोखिम र पत्रकार महिलाका चुनौती विषयक छलफल कार्यक्रममा ती सामग्री हस्तान्तरण गरिएको हो ।
पहिलो चरणको कार्यक्रम अन्तर्गत पोखरा कार्यक्षेत्र भएका २५ पत्रकार महिलालाई सेनीटाइजर, एन ९५ मास्क र केही ग्लोब्स वितरण गरिएको थियो । कोरोना महामारीका बेला संचारमाध्यमहरु नै संकटमा परिरहेका बेला महिलाको पेशागत सुरक्षा झनै संकटमा पर्न सक्ने बताउँदै सञ्चारिका समूह गण्डकी प्रदेश अध्यक्ष स्मीता अधिकारीले करियरको सुरक्षाका लागि पनि सञ्चारिका प्रयत्नशील रहेको बताइन् ।
नेपाल पत्रकार महासंघका गण्डकी प्रदेश उपाध्यक्ष शान्ति गुरुङले पत्रकारिता पेशा आफैमा चुनौतीपूर्ण भएकाले पनि जुनसुकै राष्ट्रिय अन्तराष्ट्रिय संकटका बेला पत्रकार महिला उति नडगमगाएको उल्लेख गरिन् । आत्मविश्वास दरिलो बनाएर काम गर्न पत्रकार महिलालाइ उनले सुझाइन् ।
नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले पत्रकार महासंघ जहिले पनि सक्रिय पत्रकारीताको पक्षमा उभिएको बताउँदै पत्रकार महासंघको सहयोग र सहकार्य पाउनका लागि पत्रकार महासंघको सदस्यताको क्राइटेरियाले नछेक्ने बताए ।
सञ्चारिक समूह गण्डकी सचिव कञ्चन थापाले उपस्थित पत्रकार महिलालाई सुरक्षा सामग्री हस्तान्तरण गरेकी थिइन् । ती सुरक्षा सामग्री सञ्चारिकालाई मदन भण्डारी फाउण्डेशनले उपलब्ध गराएको थियो ।




