स्वास्थ्यचौकी भवन निर्माणका लागि बालुवा निकाल्ने क्रममा ढिस्कोले पुरिँदा जाजरकोटमा पतिपत्नीको मृत्यु भएको छ। घटनामा सँगै काम गरिरहेका अन्य तीन जना घाइते भएका छन्।
जाजरकोटको नलगाड नगरपालिका-९ तात्रका ३५ वर्षीय एकराज सिंह र उनकी पत्नी ३३ वर्षीया कुमारी सिंहको ढिस्कोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ।
पत्नीको घटनास्थलमै मृत्यु भएको हो भने पतिलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बुधबार बिहान भेरी नगरपालिका-१ को रावतगाउँमा मृत्यु भएको स्थानीयवासी नवराज सिंहले जानकारी दिए। उनीहरुलाई मंगलबार दिउँसो माटोको ढिस्कोले पुरेको थियो।
सिंह दम्पतीसहित खिरखिरेस्थित बालुवा निकालिरहेका सोही गाउँका कमला सिंह, तारा सिंह र लक्ष्मी सिंहलाई ढिस्कोले पुरेको थियो।
घाइते तीन जनाको अहिले नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीमास्थित स्वास्थ्यचौकीमा उपचार भइरहेको छ। समयमा उपचार नपाउँदा एकराजको मृत्यु भएको पीडित परिवारले बताएका छन्। रासस




