पोखरा महानगरपालिका वडा नं ५ ले कोरोना महामारीमा आहतलाई राहत दिन २२ लाख खर्चेको छ । चैत ११ गते लकडाउन भएपछि मंगलबारसम्म पीडितलाई राहत र कोरोनाका कारण अप्ठेरोमा परेकालाई सहयोग गरी वडामा २२ लाख २८ हजार २१ रुपैयाँ खर्च भएको वडाध्यक्ष धनबहादुर नेपालीले जानकारी दिए ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेपालीले यो विषम परिस्थितिमा १ हजारभन्दा बढी परिवारलाई राहत उपलब्ध गराइएको जानकारी दिए । विपन्न, गरिब तथा दैनिक ज्याला मजदुरी गरी जीविकोपार्जन गर्ने ३ सय १ परिवारलाई पूरा प्याकेज तथा १ हजार ५७ परिवारलाई आधा प्याकेज राहत दिइएको छ ।
वडामा राहतका लागि सहकारी, विद्यालय, उद्योग, संघ, संस्था र देश तथा विदेशमा रहेका नेपालीले सहयोग गरेका छन् । पोखरा महानगरले वडामा ७ सय ११ परिवारलाई राहत वितरण गरेको छ ।
वडामा २ संस्थाले ५ हजार ३ सय छाक खाना ख्वाएका छन् । यस्तै, वडाका ४ घरबेटीले २ लाख ८१ हजार कोठाभाडा छुट गरिदिएका छ । पोखरा महानगरपालिकाको तर्फबाट २० जना सुत्केरीलाई सुत्केरी पोषण राहत उपलब्ध गराइएको छ ।केही
मजदुलाई अस्थायी रोजगारी दिएर टोल विकास संस्थाबाट सहयोग संकलन गरी उनीहरुलाई ६५ हजार ज्याला भुत्तानी गरिएको छ । वडाका ३ जना बालबालिकाहरुलाई लुम्ले स्थित बाल विकास केन्द्रमा व्यवस्थापन गरिएको छ भने विदेशबाट आएका १४ जनाको कोरोना जाँच गरिएको छ ।
अपाङ्गता भएका, बिरामी परेका, आगलागी भएका र मृत्यु संस्कार गर्न कठिन अवस्था भएका १४ परिवारलाई २७ हजार नगद वडाले सहयोग गरेको छ ।
वडाध्यक्ष नेपालीले पोखरा महानगरले कोरोना नियन्त्रण रोकथाम व्यवस्थापन समिति र राहतकोष स्थापना गरेलगत्तै वडामा व्यवस्थापन समिति गठन भएको जानकारी दिए । उनले भने, ‘त्यसपछि सर्वदलीय बैठक र टोल विकास संस्थाहरुबीच भेला, बैठक गर्दै राहत वितरण र महामारी व्यवस्थापनमा लागेका छौं ।’ उनले अब काम गर्न सक्नेलाई काम र काम गर्न नसक्ने अपांग, बिरामी र अशक्तहरुलाई राहत दिइने उल्लेख गरे ।
पोखरा महानगरका प्रवत्तासमेत रहेका नेपालीले लकडाउन पालना गरेकोमा वडावासीलाई धन्यवाद दिँदै महामारीमा संयमित हुने र आगामी दिनमा पनि सरकार र वडाका अनुरोध पालना गर्न अधुरोध गरे । उनले महानगरको निर्देशन बमोजिम वडाले यथाशीघ्र २५ बेडको क्वारेन्टाइन स्थल पहिचान गरी आवश्यक व्यवस्थापन गर्ने जानकारी दिए ।




