मृत्यु भएको ८ दिनपछि कोरोना पुष्टि

वीरगन्जको नेसनल मेडिकल कलेजमा मृत्यु भएका एक पुरुषको शव जलाएको ८ दिनपछि कोरोना पुष्टि भएको छ ।

जेठ ४ गते मृत्यु भएका कलैया नगरपालिका वडा नं ७ का ७० वर्षीय ती पुरुषको शव सोही दिन बुझेर परिवारले सद्गत गरिसकेको थियो । उनको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

क्षयरोग, दम लगायतका समस्या देखिएपछि जेठ २ गते अस्पताल भर्ना भएका ती वृद्धको मृत्यु भएपछि कोरोना जाँचको रिपोर्ट नआउँदै अस्पतालले शव आफन्तलाई हस्तान्तरण गरेको थियो । प्रशासनले घटनाबारे छानबिन हुने जनाएको छ ।