गुल्मीका कोरोना संक्रमितको मृत्यु, देशभर ४४४ संक्रमित

रुपन्देहीको मणिग्राममा उपचाररत गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको छ ।

भेन्टिलेटरमा उपचार भइरहेका ती संक्रमित पुरुषको बिहीबार विहान मृत्यु भएको हो । प्रदेश ५ सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा उमासंकर चौधरीले उनको बिहान ७ बजे मृत्यु भएको पुष्टि गरेका छन् ।

मृतक गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ६ का ४१ वर्षका पुरुष हुन् । रुपन्देहीको मणिग्राममा रहेको क्रिमशन अस्पतालमा जेठ १ गते उनी अस्पतालमा भर्ना भएका थिए भने २ गते उनको स्वाब परीक्षणमा कोरोना संक्रमण देखिएको थियो ।

यो सँगै नेपालमा कोरोना संक्रमित भएर मृत्यु हुनेको संख्या ३ पुगेको छ । यसअघि सिन्धुपाल्चोककी एक महिला र बाँकेका एक पुरुषको कोरोना संक्रमणबाटै मृत्यु भएको थियो ।

नेपालमा कोरोना संक्रमतिको संख्या भने ४ सय ४४ पुगेको छ । तीमध्ये ४५ जना निको भएर घर फर्किएका छन् ।