४२७ संक्रमित, ४५ निको भए

नेपाल अहिलेसम्म ४ सय २७ जनामा कोभिड १९ संक्रमण देखिएको छ भने ४५ जना निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले क्रिमसन अस्पतालमा उपचाररत संक्रमितको अवस्था गम्भीर रहेको जानकारी दिए । यसअघि केही सञ्चारमाध्यमले ती बिरामीको निधन भएको समाचार सार्वजनिक गरेका थिए । डा. देवकोटाका अनुसार ती बिरामीको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

बुधबारसम्म पिसिआर विधिबाट ३५ हजार ४ सय ९४ र आरडिटी विधिबाट ७५ हजार ७२ जनाको कोरोना जाँच भइसकेको छ । आजसम्म देशभर २३ हजार २ सय २ जना क्वारेन्टाइनमा रहेको उनले जानकारी दिए ।

बुधबार २५ संक्रमित थपिएका छन् । संक्रमितहरु ३ देखि ४८ वर्षसम्मका छन् । तीमध्ये
७ जना महिला र १८ पुरुष छन् । बाके ६ पुरुष, धनकुटामा ५ जना, कपिलवस्तुमा १३ जना र नवलपरासी पश्चिमा १ जना संक्रमित थपिएका छन् । बुधबारसम्म ३८ जिल्लामा संक्रमण देखिएको छ ।