कास्कीमा सवारी पासमा कडाइ

- अन्य जिल्लाका पास मान्य नहुने, कास्कीबाट जारी सबै सवारी पास खारेज

जिल्ला प्रशासन कार्यालय कास्कीले सवारी पासका लागि नयाँ मापदण्ड निर्धारण गरेको छ । बुधबार साँझ सूचना प्रकाशित गरी परिवारका सदस्यको मृत्यु संस्कारमा सहभागी हुन जाने, परिवारका सदस्य एवं सुत्केरी महिलालाई उपचारका लागि जिल्ला बाहिर लैजान एम्बुलेन्स उपलब्ध नहुँदाका अवस्थामा बाहेक सवारी पास जारी नहुने जनाएको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले यसअघि कास्कीबाट जिल्ला बाहिरका लागि जारी भएका सवारी पास र अन्य जिल्लाबाट कास्कीका लागि जारी भएका सवारी पास बुधबार मध्यरातिबाट खारेज भएको जनाएका छन् । अन्य जिल्लाबाट जारी भएका सवारी पास कास्कीमा मान्य नहुने जनाउँदै प्रशासनले लकडाउन पूर्ण पालना गर्नसमेत अनुरोध गरेको छ।