वैशाख ३१ गते २०७७

ताजा समाचार

वैशाख ३१ गते २०७७

घर : बन्दाबन्दीका विद्यालय



स—साना मन्टेश्वरी पढ्ने बालबालिकाले विद्यालयमा त साथीका साथमा मिलेर लहै लहैमा खाने, पढ्ने, खेल्ने अनि बिभिन्न संस्कृति सिक्ने गर्दछन् । तर अहिले घरमै बसेर त्यही नियम पालना गर्दै खाने, ठूलाले भनेको मान्ने, पढ्ने, अनुशासन पालना गर्ने जस्ता काम गर्न निकै गाह्रो भएको छ । कुरा एक, दुई साताको होइन । यहाँ त कुरा लगभग दुई महिनाको छ । मण्टेश्वरीमा तालिम प्राप्त शिक्षक, जसले बालबालिकाको मनोभावना बुझ्न सक्ने हुन्छन । तर पनि कतिपय बेला सबै बालबालिकालाई बुझ्न सकिंदैन । अझ फरक बिषय पढेका अनि मात्र एक वा दुई बच्चा जन्माएका बाबुआमाले कसरी बुझ्न सक्लान् ती अवोध बालबालिकालाई ? अनि पढाउन सक्लान् ? अनि हामीकहाँ फिर्ता आउने बेला पढ्ने बानी जस्ताको तस्तै रहला ? यो गम्भीर बिषय छ ।

अहिले ठूला कक्षाका बिद्यार्थीका लागि प्रायः विद्यालयले अनलाइन कक्षाको बाढी नै ल्याएका छन् । यसकोे प्रभाव त हेर्न बाँकी छ । तर, हामीले साना बालबालिकालाई कसरी अनलाइनमा हाहा गरीगरी सुताउने ? कसरी चित्र कला सिकाउने ? कसरी नृत्य सिकाउने ? प्रश्न धेरै छन् । यस बेलामा साना बालबालिकाका लागि घर विद्यालय उपयुक्त छ । जहाँ जिन्दगीका प्रथम शिक्षक उनीहरुका बाबुआमा साथमा छन् । हरेक बाबुआमालाई थाहा छ, आजका बच्चा ठूला हुँदै जाने छन् ।

घरमा अभिभावकसँग बालबालिकालाई कुनै पनि कुराको कमी छैन तर केही कमी छ त केवल बालमनोविज्ञानको ।

घरमा अभिभावकसँग बालबालिकालाई कुनै पनि कुराको कमी छैन तर केही कमी छ त केवल बालमनोविज्ञानको । उहाँहरुसँग आफ्ना बुबाआमाले गरेका व्यवहार अनि त्यही व्यवहारले आफू यस उत्कृष्ट स्थानमा पुगेको कथा छ । आफ्नो उमेरमा आफूले गरेको दुःखको कथा छ । बाबुआमालाई यो ज्ञान छ कि, बालबालिकालाई डर देखाउनु पर्छ नत्र भनेको मान्दैनन् । आमाबाबुमध्ये कुनै एक जनाले पिट्नु पर्छ, अर्काले फकाएजस्तो गर्नु पर्छ । यस्ता धारणा उहाँहरुसँग छन् । के डर धम्कीले बालबालिका आफ्ना बाबुआमाले चाहेका जस्ता अनुशासित वयस्क बन्लान् ? यो सत्य होइन, पटक्कै होइन ।

यस्ता तरिकाले, बालबालिकालाई देखाइने डर, त्रासले उनीहरु मजबूर पक्कै होलान् । आमाबाबुका आँखाअघि नकै अनुशासित देखिएलान् तर जब बाबुआमाको आँखा छल्न पाउँछन्, तब आफ्नो वास्तविक स्वभावभन्दा निकै बिग्रन्छन् । आफ्नो पढाइलाई बोझ ठान्नेछन् । अनि, हामीकहाँ आई पुग्दा उनीहरुलाई फेरि यथास्थितमा ल्याउन निकै मिहिनेत गर्नुपर्ने देखेकी छु । यस्तो बेला हरेक बाबुआमाले यो जान्न जरुरी छ कि बालबालिकाले पढाइलाई रमाइलो मानून अनि उनीहरुको रुचि पनि बढोस् ।

बालबालिका कोहि पनि समान छैनन् । उनीहरु बिछट्टै एकल प्रतिभा लिएर जन्मिएका छन् । त्यसैले उनीहरुको तुलना कोही अर्कोसँग पनि हुन सक्दैन ।

सबै अभिभावकलाई थाहा भएकै कुरा हो, हाम्रा बाबुनानीले कुन अवस्थामा परीक्षा दिएका थिए । विद्यार्थी पूर्ण तयारीमा नहुँदै सरकारको निर्देशन पालना गर्दै विद्यालयका सम्पूर्ण यस शैक्षिक सत्रका काम पूरा गर्नु परेको थियो । विद्यार्थी हतास मनस्थितिमा विद्यालयबाट बिदा भएका थिए । यसर्थ पनि उनीहरुको परीक्षा परीणाम यहाँहरुको चाहना बमोजिम नहुन सक्ला । यस परिस्थितिलाई पनि अभिभावकले मनन गर्नु आवश्यक छ । बालबालिकासँगको व्यवहारको सबैभन्दा महत्वपूर्ण कुरा बालबालिका कोहि पनि समान छैनन् । उनीहरु बिछट्टै एकल प्रतिभा लिएर जन्मिएका छन् । त्यसैले उनीहरुको तुलना कोही अर्कोसँग पनि हुन सक्दैन ।

बालबालिकालाई पढाउनु पहिला आफूमा धैर्य हुनु जरुरी छ । बच्चाले एउटै प्रश्न बारम्बार गर्न सक्छन् । तपाईले उसको मनोभावना बुझ्नु जरुरी छ । यहाँ म अरु पनि केही बुँदाबारे चर्चा गर्नेछु जसको बिषेश ख्याल गर्नु जरुरी छ । अधिकांश बालबालिकालाई पढाउन लाग्दा अभिभावकले जानेर वा अञ्जानमा केही न केही गल्ती गरी नै रहेका हुन्छन् । बालबालिकासँग गरिने व्यवहारका बारेमा तपाई जानकार हुनुभयो भने यहाँहरुलाई बालबालिकालाई सिकाउन अति सजिलो लाग्नेछ ।

अभिभावकले के गर्ने, के नगर्ने ?

१) यदि बच्चा निकै सानो छ भने उसलाई फोटो भएको किताब, कथा, कविता वा भिडियोको माध्यमबाट सिकाउने कोशिस गर्नुस् ।
२) बचालाई पढाउनका लागि अनेकौं प्रकारका खेलौनाको पनि सहारा लिन सकिन्छ ।
३) बालबालिकालाई आफ्ना तर्क दिनुभन्दा पहिला उनीहरुको तर्क सुन्ने गर्नुस् ।
४) बालबालिकालाई कोठाभित्रै नराख्नुस् । बेला बेला घरको छत, बरन्डा वा बालकोनीतिर पनि घुमाउन लग्नुस् ।
५) बालबालिकाका साथमा निकै शक्ति पनि प्रदर्शन नगर्नुस् । उनीहरुलाई पिटेर पढाउँछु भनेर कदापि नसोच्नुस् । यो अति खराब हुनेछ । यदि उनीहरु जिद्दी भए भने तपाईको पनि इज्जत गर्न छाडिदिने छन् ।

बच्चाको तारिफ गर्नुस् । जुनुसुकै बेला किन न होओस्, काम गर्दा, पढ्ने बेला, खाने बेला, उसले मद्दत गर्दा । जसले गर्दा बालबालिकाको मनोबल बढ्छ ।


६) कतिपय अभिभावकले पढाउदा, पढाउदा खाना खुवाउन पनि बिर्सनु हुन्छ । यस्तो परिस्थितिमा बच्चा रिसाउन सक्छन् । त्यसैले पहिला बच्चाको पेट भरिदिनुस् ।
७) बच्चाको तारिफ गर्नुस् । जुनुसुकै बेला किन न होओस्, काम गर्दा, पढ्ने बेला, खाने बेला, उसले मद्दत गर्दा । जसले गर्दा बालबालिकाको मनोबल बढ्छ ।
८) बच्चालाई पुरस्कृत गर्नुुस् । पुरस्कार पाउने आशामा बच्चाले पढाइमात्र होइन, सबै काम गर्न थाल्छन् । जुन तपाई उसबाट गराउन चाहनुहुन्छ ।
९) समय तालिका बनाईदिनुस् ताकी उनीहरु व्यस्त रहुन् । कति बजे उठ्ने, योगा, खाजा, पढाइ, आराम, मनोरञ्जन सबैको समय तालिका बनाइएन भने दैनिकी अस्तव्यस्त हुनसक्छ । अनुशासन बिग्रन सक्छ ।

१०) पढिरहेका बेला समय समयमा ब्रेक दिने गर्नुुस । लगातार पढाउँदा बालबालिकाले ध्यान दिन सक्दैनन् । पढाउँदा कथा, गीत, कविता इत्यादिबाट मनोरञ्जन गराउनु आवश्यक छ ।

सुन्दा निकै सामान्य लाग्ने यी कुरा बालबालिकाका लागि अति नै महत्वपूर्ण छन् । यी बुँदामा मात्र ध्यान दिनुभयो भने पनि जब फेरि विद्यालय खुल्छ, तब बालबालिकलाई सबै कुरा उस्तै लाग्नेछ । राम्रोसँग पढ्न सक्ने छन् । आशा छ, तपाईका बालबालिकासँगको समय रमाइलोसँग बितेको होला ।

लेखक कृष्टल मण्टेश्वरी ठाडोपसल, लेकसाइडकी म्यानेजिङ डाइरेक्टर हुनुहुन्छ ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।