बाल हितकारी परियोजना नेपाल (सिडब्लुएसएन)ले अपांगता भएका एवं अति विपन्न २६ परिवारलाई राहत वितरण गरेको छ । कोरोना कहरका कारण जीविका धान्ने अप्ठेरोमा परेका अपांगता भएका २२ परिवार र दैनिक ज्याला, मजदुरी गर्ने ४ परिवारलाई संस्थाले राहत दिएको हो ।
अध्यक्ष गोबिन्दराज पहारीले महामारीबाट आहात केही परिवारलाई उनीहरुको घर घरैमा पुगी राहत वितरण गरिएको जानकारी दिए । राहतमा चामल, दाल, तेल, साबुन लगायतका सामग्री छन् । पोखरा महानगरपालिकासँग समन्वय गरी यसअघि राहत नपाएकाहरुलाई राहत दिइएको उनले बताए । पहारीले भने, ‘अपांगता भएका र दैनिक ज्याला मजदुरी गर्नहरु महामारीबाट बढी प्रभावित हुने भएकाले उनीहरुलाई प्राथमिकता दिएर राहत वितरण गरेका हौं ।’
सिडब्लुएसएनले यसअघि नै पोखरा महानगरले स्थापना गरेको कोरोना राहत कोषमा १ लाख रुपैयाँ जम्मा गरेको थियो । संस्थाले सडक बालबालिकाको संरक्षण, अपांगता पुनस्र्थापना, समावेशी शिक्षा, किशोरकिशोरी स्वास्थ्य तथा शिक्षा लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।






